३० औं जलवायु सम्मेलनका अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एशियाका विशेष दूतका रुपमा न्युक्त हुनु भएका डा. अरुणाभ घोष र मन्त्री गिता चौधरी बिच भेटवार्ता


माननीय मन्त्री गिता चौधरीले ३० औं जलवायु सम्मेलनका अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एशियाका विशेष दूतका रुपमा न्युक्त हुनु भएका डा. अरुणाभ घोषसँग भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा मन्त्री चौधरीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको हिमाली राष्ट्र भएको उल्लेख गर्नुभयो। हिमाल पग्लिने क्रम तीव्र बन्दै जाँदा त्यसको असर केवल हिमाली क्षेत्रमा मात्र सीमित नरही तल्लो तटीय र नदी प्रणालीमा आश्रित समुदायसम्म फैलिरहेको उहाँको भनाइ थियो।

उहाँले जलवायु परिवर्तनलाई कुनै एक देशको समस्या नभई साझा विश्वव्यापी संकटका रूपमा व्याख्या गर्दै यसको समाधान सामूहिक अन्तर्राष्ट्रिय प्रयासबाट मात्र सम्भव हुने धारणा राख्नुभयो। नेपालले राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना तथा उच्च लक्ष्यसहितको NDC 3.0 कार्यान्वयनमा ल्याएर जलवायु प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेको पनि उहाँले जानकारी दिनुभयो।

भेटवार्तामा नेपालले ४६ प्रतिशत वन क्षेत्र संरक्षणमार्फत कार्बन सञ्चिति, जैविक विविधता संरक्षण र स्वच्छ पानी प्रवाहमा क्षेत्रीय योगदान पुर्‍याइरहेको विषय पनि उठाइएको थियो। पर्वतीय राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन नेपालले आयोजना गरेको Sagarmatha Sambaad लाई समेत जलवायु कूटनीतिको महत्वपूर्ण पहलका रूपमा प्रस्तुत गरिएको थियो।

मन्त्री चौधरीले आगामी United Nations Climate Change Conference COP31 लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले India सहित छिमेकी तथा समान सोच भएका पर्वतीय राष्ट्रहरूसँग सहकार्य गर्दै जलवायु न्याय, क्षति तथा नोक्सानी (Loss and Damage) र साझा जलवायु एजेन्डालाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटलाई दक्षिण एशियाली जलवायु सहकार्य र पर्वतीय राष्ट्रहरूको साझा आवाजलाई विश्वमञ्चमा थप सशक्त बनाउने प्रयासका रूपमा हेरिएको छ।