काठमाडौँ। कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आयात प्रतिस्थापन गर्न आधुनिक कृषि यान्त्रिकीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। कृषि क्षेत्रमा श्रमिक अभाव, बढ्दो उत्पादन लागत र युवाको घट्दो आकर्षणलाई सम्बोधन गर्न आधुनिक प्रविधिको प्रयोग विस्तारसँगै स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योग विकास गर्नुपर्ने उनीहरूको भनाइ छ।
शुक्रबारदेखि काठमाडौँमा सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ को उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले कृषि क्षेत्रको रूपान्तरणका लागि प्रविधि, लगानी, वित्तीय पहुँच र नीतिगत सुधार आवश्यक रहेको बताएका हुन्।
मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषि उत्पादनदेखि पशुपालन, सिँचाइ, भण्डारण तथा प्रशोधनसम्मका आधुनिक प्रविधि, उपकरण र सेवाहरू प्रदर्शनमा राखिएका छन्। ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीले किसानलाई आधुनिक प्रविधिसँग जोड्दै कृषि व्यवसायलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन सके ठूलो परिमाणमा भइरहेको आयात प्रतिस्थापन गर्न सकिने बताए। भन्सार विभागको तथ्यांक उद्धृत गर्दै उनले आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषिसम्बन्धी वस्तुको आयात करिब चार खर्ब ४१ अर्ब रुपैयाँ पुगेको जानकारी दिए। उक्त तथ्यांकमा खाद्यान्नका अतिरिक्त कच्चा खाद्य तेल, पशु आहार तथा प्रशोधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने उनले स्पष्ट पारे।
किसानलाई भाषण र आश्वासनभन्दा उत्पादन बढाउने प्रविधि र साधन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री साहले परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउन कृषि यान्त्रिकीकरण अपरिहार्य भएको बताए।
उनले कृषि मेसिनरी व्यवसायीलाई उपकरण आयात तथा बिक्रीमा मात्र सीमित नभई स्वदेशमै कृषि औजार, मेसिन, पार्टपुर्जा र प्राविधिक उत्पादन गर्ने उद्योग स्थापना गर्न आग्रह गरे। नेपाली भूगोल र किसानको आर्थिक क्षमताअनुसारका साना, किफायती र सहजै मर्मत गर्न सकिने उपकरण उत्पादनलाई सरकारले प्राथमिकता दिने उनको भनाइ थियो।
कृषि यान्त्रिकीकरणलाई कृषि र उद्योगबीचको सम्बन्ध बलियो बनाउने महत्त्वपूर्ण आर्थिक क्षेत्रका रूपमा विकास गर्न आवश्यक नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वदेशी उत्पादन, अनुसन्धान, प्रविधि हस्तान्तरण र नवप्रवर्तनमा निजी क्षेत्रको लगानी बढाउन पनि आग्रह गरे।
आयातमा निर्भरता घटाउन स्वदेशी उत्पादन आवश्यक
नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले कृषि यान्त्रिकीकरणको विकासका लागि सरकार, व्यवसायी र किसानबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
वि.सं. २०७० मा मिनी टिलरको प्रदर्शनबाट सुरु भएको कृषि यान्त्रिकीकरण प्रदर्शनी पछिल्ला वर्षमा थप व्यवस्थित र आधुनिक बन्दै गएको उनले बताए। यस वर्षको प्रदर्शनीमा बीउबिजन, कृषि उपकरण, पशुपालन, मल, दाना तथा मौरीपालनलगायत कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी र संस्थाको सहभागिता रहेको उनले जानकारी दिए।
कृषि यान्त्रिकीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताउँदै शर्माले कृषि मेसिनरी आयातमा भन्सार छुट, किसानलाई उपकरण खरिदका लागि सहज ऋण तथा उपकरण मर्मतसम्भारसम्बन्धी तालिम र सीप विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
उनले केन्द्रीयस्तरको कृषि यान्त्रिकीकरण प्रदर्शनीको आवश्यकता औँल्याउँदै प्रदर्शनीस्थलको भौतिक पूर्वाधार जीर्ण रहेकाले सुधार गर्नुपर्नेमा समेत जोड दिए।
किसानको आवश्यकताअनुसार प्रविधि प्रयोग गर्न एफएओको सुझाव
खाद्य तथा कृषि संगठन (एफएओ) का कार्यक्रम व्यवस्थापक दीपक तुलाधरले जलवायु परिवर्तन, कृषि श्रमिकको अभाव र युवाहरूको कृषि क्षेत्रप्रतिको घट्दो आकर्षणले नेपालमा कृषि यान्त्रिकीकरणको आवश्यकता बढाउँदै लगेको बताए।
तर आवश्यकताको मूल्यांकन नगरी उपकरण वितरण गर्नेभन्दा किसानको वास्तविक आवश्यकता, खेती प्रणाली र भौगोलिक अवस्थाअनुसार उपयुक्त प्रविधि छनोट गर्नुपर्ने उनको सुझाव थियो।
एफएओले कृषि उत्पादन, भण्डारण र प्रशोधनका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै तुलाधरले साना किसानले महँगा उपकरण खरिद गर्न नसक्ने भएकाले उनीहरूलाई पनि यान्त्रिकीकरणको सुविधा उपलब्ध हुने व्यवस्था आवश्यक रहेको बताए।
साना किसानका लागि उपकरण खरिदभन्दा भाडामा प्रयोग गर्न पाउने प्रणाली, सामूहिक उपयोग तथा सेवा प्रदायकमार्फत यान्त्रिकीकरणको पहुँच विस्तार गर्न सकिने उनको भनाइ थियो। जलवायुमैत्री कृषि यान्त्रिकीकरणको प्रवर्द्धनका लागि एफएओले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए।
अनुदानभन्दा उपयोगितामा ध्यान दिनुपर्ने
बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधिर श्रेष्ठले कृषि उपकरणमा अनुदान वितरण गर्दा किसानको आवश्यकता र उपकरणको उपयोगितालाई प्राथमिकता दिनुपर्ने बताए।
अनुदानका कारण कतिपय स्थानमा आवश्यकताभन्दा बढी उपकरण पुगेको तर प्रयोगविहीन अवस्थामा थन्किएको उल्लेख गर्दै उनले अनुदान प्रणालीलाई परिणाममुखी बनाउनुपर्ने धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले पनि कृषि यान्त्रिकीकरणमा अनुदानको अत्यधिक प्रयोगले उपकरणको वास्तविक महत्त्व र गुणस्तरमा असर पार्न सक्ने बताए। कृषि उपकरणको गुणस्तरमा व्यवसायीहरूले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै केही व्यवसायीको कमजोरीका कारण समग्र क्षेत्रकै विश्वसनीयता प्रभावित हुन नहुने उनको भनाइ थियो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले पछिल्लो समय गाउँगाउँसम्म कृषि यान्त्रिकीकरणको पहुँच विस्तार हुँदै गएको बताए। सरकारले यस क्षेत्रमा लगानी गर्दै आएको उल्लेख गर्दै उनले कृषि यान्त्रिकीकरण नीति पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए।
उपकरण वितरणसँगै सञ्चालन, मर्मतसम्भार र प्राविधिक जनशक्तिको उपलब्धतालाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उपकरण उपलब्ध गराएर मात्र यान्त्रिकीकरण प्रभावकारी नहुने भन्दै उनले मर्मत तथा सञ्चालनका लागि आवश्यक सीप र सेवा विस्तार गर्न व्यवसायीहरूलाई आग्रह गरे।

कृषि क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तारको आवश्यकता
ग्लोबल आइएमई बैंकका कार्यकारी निर्देशक सुरेन्द्रराज रेग्मीले किसान र प्रविधिलाई एउटै मञ्चमा जोड्ने काम गरेकोमा आयोजकलाई धन्यवाद दिए।
नेपालको कृषि क्षेत्रमा अपेक्षित उत्पादन र उत्पादकत्व हासिल हुन नसकेको अवस्थामा आधुनिक यान्त्रिकीकरणको प्रयोग बढाउनुपर्ने उनले बताए। नेपालको भौगोलिक अवस्था र खेती प्रणालीलाई ध्यानमा राखेर बैंकले कृषि क्षेत्रमा वित्तीय साझेदारको भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो।
राष्ट्रिय योजना आयोगका सदस्य देवेन्द्र गौचनले कृषि यान्त्रिकीकरणलाई उत्पादन वृद्धि, लागत न्यूनीकरण र समग्र कृषि क्षेत्रको रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्ने बताए। यसका लागि नीतिगत स्पष्टता, लगानी र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
नेपाल कृषि अनुसन्धान परिषद्का प्रतिनिधिले कृषि यान्त्रिकीकरणको क्षेत्रमा पछिल्लो समय सकारात्मक काम भइरहेको उल्लेख गर्दै दिगो यान्त्रिकीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए।
नामियाकी उपाध्यक्ष सुनिता निमाफुकिले कृषि उपकरणको पहुँच गाउँगाउँसम्म विस्तार गर्न तथा किसानलाई आधुनिक प्रविधिको प्रयोग र मर्मतसम्भारसम्बन्धी सीप प्रदान गर्नुपर्ने बताइन्। यान्त्रिकीकरणले खेतीपाती सहज बनाउनुका साथै उत्पादन लागत घटाउन र कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सहयोग गर्ने उनको भनाइ थियो।
सयभन्दा बढी प्रदर्शक, दुई हजार उपकरण प्रदर्शन गरिने
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सयभन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र दुई सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।
प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शन गरिनेछ। यसले किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नयाँ प्रविधि र उपकरणबारे जानकारी लिन तथा आफ्नो आवश्यकता र क्षमताअनुसार प्रविधि छनोट गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी सञ्चालन भएको हो। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
कृषि यान्त्रिकीकरणको चुनौती अब उपकरणको उपलब्धतामा मात्र सीमित छैन। किसानको क्रयक्षमता, उपकरणको उपयुक्तता, मर्मतसम्भार सेवा, प्राविधिक जनशक्ति र वित्तीय पहुँच सुनिश्चित गर्नु उत्तिकै महत्त्वपूर्ण छ। अनुदानमुखी वितरण प्रणालीबाट आवश्यकतामा आधारित उत्पादन तथा सेवा प्रणालीतर्फ जान सके मात्र यान्त्रिकीकरणले कृषि उत्पादन बढाउने, लागत घटाउने र आयात प्रतिस्थापन गर्ने अपेक्षित परिणाम दिन सक्ने देखिन्छ।