३० हजार मेट्रिक टन डिएपीमध्ये पहिलो खेप भोलि नेपाल आइपुग्दै, युरिया मलको ढुवानी पनि सुरु हुने तयारी


काठमाडौँ। धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला नेपालका किसानका लागि राहत हुने गरी ३० हजार मेट्रिक टन डिएपी (डाइ–अमोनियम फस्फेट) मलमध्ये पहिलो खेप भोलि नेपाल आइपुग्ने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको उक्त मल भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन थालिएको हो।

कृषि सामग्री कम्पनीका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डिएपी मल बोकेको जहाज गत जुलाई १० मा भारतको कोलकाता बन्दरगाहमा पुगेको थियो। त्यसपछि बन्दरगाहमा मल अनलोड गरी प्याकेजिङ (ब्यागिङ) गर्ने काम सुरु गरिएको थियो।

प्याकेजिङ सम्पन्न भएको पहिलो खेपअन्तर्गत एक हजार २५० मेट्रिक टन डिएपी मल साउन १ गते रेलमार्फत वीरगञ्जका लागि पठाइएको थियो। उक्त खेप भोलि साउन ४ गते नेपाल आइपुग्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कोलकाता बन्दरगाहमा बाँकी रहेको डिएपी मलको प्याकेजिङ कार्य तीव्र गतिमा भइरहेको छ। प्याकेजिङ सकिँदै गएसँगै थप एक रेल (रेक) आज वीरगञ्जतर्फ पठाइएको छ भने बाँकी मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने तयारी गरिएको छ।

युरिया मल पनि आउने तयारी

डिएपीसँगै किसानले प्रतीक्षा गरिरहेको युरिया मलको आपूर्ति प्रक्रिया पनि अघि बढेको छ। कृषि सामग्री कम्पनीका अनुसार ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ।

हाल युरिया मल अनलोड गर्ने र प्याकेजिङ गर्ने काम भइरहेको छ। कम्पनीका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि भोलिदेखि युरिया मल पनि रेलमार्फत वीरगञ्ज पठाउने तयारी गरिएको छ।

मल आपूर्तिमा सहजता आउने अपेक्षा

सरकारले चालु आर्थिक वर्षका लागि रासायनिक मलको आपूर्ति सहज बनाउने लक्ष्य लिएको छ। धान रोपाइँको समयमा डिएपी र युरिया दुवै मलको माग उच्च हुने भएकाले समयमै आपूर्ति हुन सके किसानलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षहरूमा ढुवानी ढिलाइ, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि तथा आपूर्ति शृंखलामा देखिने समस्याका कारण किसानले मल अभाव झेल्दै आएका थिए। यसपटक भने कोलकाता बन्दरगाहमा पुगेका दुवै प्रकारका मल चरणबद्ध रूपमा नेपाल भित्रिने प्रक्रिया सुरु भएकाले बजारमा मलको उपलब्धता क्रमशः सहज हुने कृषि सामग्री कम्पनीको विश्वास छ।

कम्पनीले बाँकी डिएपी तथा युरिया मल पनि क्रमिक रूपमा नेपाल भित्र्याएर प्रदेश तथा जिल्लास्थित गोदाममार्फत किसानसम्म वितरण गरिने जनाएको छ। सरकारको लक्ष्य रोपाइँ तथा बाली व्यवस्थापनको महत्वपूर्ण समयमा रासायनिक मलको आपूर्ति सुनिश्चित गर्दै कृषि उत्पादनमा कुनै अवरोध आउन नदिनु रहेको कम्पनीले जनाएको छ।