
ईकोनोमिक खबर, काठमाडौं।
प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ। उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए।
प्रहरीका अनुसार चिनियाँ नागरिकले नेपाली बैंकिङ प्रणाली ह्याक गरेर एटीएमबाट पैसा लुट्न ९ वटा बैंकलाई माध्यम बनाएको देखिएको छ । तीनवटा बैंकको एटीएम बुथ प्रयोग भएको छ भने बाँकी ६ बैंकको कार्ड प्रयोग भएको छ। यसैगरी, ह्याकरले नेपालबाहेक भुटान र भारतबाट पनि कार्डको प्रयोग गरेको आशंका छ । चिनियाँ ह्याकरले पैसा झिक्न नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग गरेको पाइएको छ। कार्ड भने प्रभु, एनआईसी एसिया, जनता, ग्लोबल आईएमई, सनराइज बैंकलगायतका बैंकको प्रयोग भएको पाइएको छ।
नेपाली बैंकका पैसा भारत बाट पनि कार्ड प्रयोग गरी १ करोड निकालिएको
नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहले भारतबाट पनि नेपाली बैंकको एटीएम प्रयोग गरी रकम निकालेको तथ्य बाहिरिएको छ। युरोपमा बसेर नेपाली बैंकको स्विफ्ट कोड चोरी नेपालमा रहेका ती चिनियाँ नागरिकलाई पैसा निकाल्न निर्देशन दिने गिरोहले नै भारतबाट नेपाली एटीएम प्रयोग गरेर रकम निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
सो घटनाको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार नेपालका बैंकबाट रकम निकाल्ने गिरोहले नै भारतीय बैंकबाट नेपाली बैंक एभरेष्ट र माछापुच्छ्रे बैंकको एटीएम प्रयोग गरी १ करोड नेपाली रुपियाँ निकालेको फेला परेको हो।अधिकांश नेपाली वाणिज्य बैंकका एटीएम भारतीय बैंक तथा एटीएम मेसिनमा प्रयोग गर्न सक्ने भएपछि गिरोहले नेपाली एटीएम प्रयोग गरेर पैसा निकालेको फेला पारेपछि अहिले भारतीय पक्षसँग पनि कुरा गरिरहेको डीएसपी बोगटीले जानकारी दिए।