निरज रानाभाट, ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आफ्ना सदस्य पुष्प व्यवसायीहरूबीच आपसी सद्भाव, भाइचारा, सहकार्य, खेल भावना तथा स्वस्थ मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘फ्यान फुटसल च्याम्पियनसिप – २०८३’ ललितपुरको ढोलाहिटीस्थित टर्फ पार्कमा अत्यन्त उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

फ्यानका उपाध्यक्ष सुमन महर्जनको संयोजकत्वमा गठित आयोजक समितिले च्याम्पियनसिपको सम्पूर्ण व्यवस्थापन कुशलतापूर्वक सम्पन्न गरेको थियो । च्याम्पियनसिपमा नर्सरी, कट फ्लावर ग्रोवर तथा कट फ्लावर रिटेलर क्षेत्रका गरी १२ टोलीका ८२ जना पुष्प व्यवसायी खेलाडीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ फ्यान कार्य समितिका पदाधिकारी तथा एफसिएलका पदाधिकारीहरूबीच मैत्रीपूर्ण खेलबाट गरिएको थियो । दिनभर सञ्चालन भएको प्रतियोगितामा जम्मा २० वटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका थिए । खेलभर सहभागी टोलीहरूले अनुशासित, प्रतिस्पर्धात्मक र खेलभावनायुक्त प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चक खेलको भरपुर मनोरञ्जन प्रदान गरेका थिए । सहभागी पुष्प व्यवसायी तथा दर्शकहरूको उल्लेखनीय उपस्थितिले सम्पूर्ण कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा नवसेवा नर्सरी समूहले स्कारलेट नर्सरी समूहलाई ४ – १ गोल अन्तरले पराजित गर्दै ‘फ्यान फुटसल च्याम्पियनसिप २०८३’ को उपाधि जित्न सफल भयो । यस्तै, स्कारलेट नर्सरी समूह प्रथम उप-विजेता तथा राज खड्का समूह द्वितीय उप-विजेता बन्न सफल भएका छन् । विजेता तथा उप-विजेता टोलीहरूलाई ट्रफी, मेडल, प्रमाण-पत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । च्याम्पियनसिपमा सहभागी सम्पूर्ण खेलाडीहरूलाई सहभागिता प्रमाण-पत्र प्रदान गरिएको थियो ।

यस प्रतियोगिताको सफल आयोजनाका लागि प्रायोजक संस्थाको रुपमा न्यू सन फलावर नर्सरी, क्रप प्रो-टेक नेपाल, सिस्टता नर्सरी, यस आर नर्सरी प्रा.लि., आइरिस फ्लावर सप, फ्लावर जोन र घिमिरे नर्सरी रहेका थिए, मिडिया पार्टनरको रूपमा जनअपडेट डटकम रहेको थियो । फ्यानले यस्ता खेलकुद तथा सामाजिक कार्यक्रमहरू मार्फत पुष्प व्यवसायीहरूबीचको एकता, आपसी सम्बन्ध र संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने छ।


