आपूर्ति सहज भएपछि पुरानै १४.२ केजी ग्यास सिलिन्डर वितरण सुरु, आवश्यकता अनुसार मात्रै खरिद गर्न निगमको आग्रह


काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति अवस्था सामान्य बन्दै गएपछि असार ३१ गतेदेखि देशभर पुनः १४.२ केजी क्षमताका ग्यास सिलिन्डर पुरानै मूल्यमा बिक्री–वितरण गर्ने निर्णय गरेको छ।

निगमले जारी गरेको सूचनाअनुसार भारतीय आयल निगमका विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट ग्यास लोडिङमा सुधार आएको तथा उपभोक्ताबाट १४.२ केजी सिलिन्डरको माग उच्च रहेकाले पुरानै प्रणालीमा फर्किने निर्णय गरिएको हो।

यसअघि आपूर्ति व्यवस्थापन सहज बनाउन निगमले २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी ग्यास भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो। तर अहिले आपूर्ति अवस्था सुधारिएपछि उक्त अस्थायी व्यवस्था हटाउँदै १४.२ केजी ग्यास सिलिन्डरमा पूर्ण परिमाणको ग्यास भरेर प्रति सिलिन्डर २,०६० रुपैयाँ मूल्यमा बिक्री गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

निगमका अनुसार केही समयसम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर एकसाथ बिक्री–वितरण हुन सक्ने भएकाले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य राम्रोसँग यकिन गर्न आग्रह गरिएको छ।

साथै, भारतीय आयल निगमबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको उल्लेख गर्दै निगमले बजारमा कृत्रिम अभाव सिर्जना हुने गरी आवश्यकताभन्दा बढी ग्यास खरिद वा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।

निगमले नियमित आपूर्तिका कारण बजारमा ग्यास अभाव नहुने विश्वास व्यक्त गर्दै उपभोक्तालाई हल्लाको पछि नलागी आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।