जलवायु संकट सामना गर्न साझा प्रतिबद्धता आवश्यक: मन्त्री चौधरी


काठमाडौँ।‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती र दिगो विकासप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो।

दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा आयोजना गरेको विशेष कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका बढ्दो असरप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणलाई विकासको अभिन्न अंगका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

“जलवायु परिवर्तन अब भविष्यको मात्र चुनौती होइन, वर्तमानको यथार्थ बनिसकेको छ। हिमाल पग्लिने, अनियमित वर्षा, बाढीपहिरो तथा वातावरणीय असन्तुलनका घटनाले नेपाल प्रत्यक्ष प्रभावित भइरहेको छ,” मन्त्री चौधरीले भन्नुभयो।

उहाँले दिगो विकासका लागि आर्थिक समृद्धि र वातावरणीय सन्तुलनबीच उचित समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्वच्छ ऊर्जा, वन संरक्षण र हरित पूर्वाधारमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो।

“प्राकृतिक स्रोतको संरक्षण, जलवायु अनुकूलन क्षमता अभिवृद्धि र प्रकृतिमैत्री विकासलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सके मात्रै भावी पुस्तालाई सुरक्षित र समृद्ध भविष्य हस्तान्तरण गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी ले विश्व वातावरण दिवस वातावरण संरक्षण तथा जलवायु परिवर्तनका विषयमा जनचेतना विस्तार गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँका अनुसार दिवसको अवसरमा देशभर वृक्षरोपण, सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम तथा वातावरण संरक्षणसम्बन्धी विविध गतिविधि सञ्चालन गरिनेछ।

वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवालाको सहभागितामा दिवस मनाइरहेको जनाएको छ। विश्व वातावरण दिवसले जलवायु परिवर्तनका चुनौती सामना गर्न साझा प्रतिबद्धता र सक्रिय सहभागिता बढाउने अपेक्षा गरिएको छ।