भारतका गृहमन्त्री अमित शाह र रवि लामिछानेबीच भेटवार्ता, नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता
Economic Khabar
१९ जेष्ठ २०८३, मंगलवार २२:१०
काठमाडौं। भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा गृहमन्त्री शाहले निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि लामिछानेलाई बधाई दिँदै नयाँ सरकारको सफल कार्यकालका लागि भारतको तर्फबाट शुभकामना व्यक्त गरेको बताइएको छ।
दुवै नेताबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल भएको र दुई देशबीचको ऐतिहासिक तथा विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्यलाई निरन्तरता दिने विषयमा सहमति भएको जनाइएको छ।
भेटवार्तामा दुवै पक्षले Nepal & India बीचको पारस्परिक हित, जनस्तरको सम्बन्ध तथा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
रास्वपाको प्रतिनिधिमण्डल र भारतीय पक्षबीच भएको उक्त भेटलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।