काठमाडौं । National Examination Board ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा घोषणा गरेको हो।
यस वर्षको नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नतिजा केहीबेरपछि वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो। यही व्यवस्थाका कारण अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।
यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेको बोर्डले जानकारी दिएको छ।