त्रिपुरासुन्दरी भगवती जात्रा र न्वागि महोत्सव सम्पन्न, सल्यानकोट–बेसीमा देवीको बसाइ/सराइ


धादिङ , मंसिर ७ ।

नेपालको एकीकरण इतिहास सम्झाउने गरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पुजापाठ गरेर आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीको मन्दिर आगिन्चोक, सल्यानबेसीतर्फ झरिएको थियो।

मङ्सिर महिनामा लाग्ने यो जात्रा देवीलाई आफ्नो घरबाट माइतिमा न्वागी खान जाने परम्परा अनुसार विशेष साइत हेरेर आयोजना गरिएको हो।

यो जात्रा आफैमा शक्तिपीठ, लोकविश्वास, इतिहास र सांस्कृतिक अध्यात्मको अद्भुत संगम हो। नेपालभरिका अन्य मन्दिरभन्दा फरक यहाँ भक्तजनले देवीको मूर्ति प्रत्यक्ष देख्न पाउँदैनन्। देवीको प्रतिमा बोकेका मुख्य पुजारी (राना मगर थर) बाहेक कसैले पनि छुन नपाउने अनौठो र पवित्र परम्परा सदियौंदेखि कायम छ।

देवीलाई मूलघरबाट माइतीघर झार्न झण्डै तीन घण्टाको अप्ठ्यारो ओह्रालोबाटो पार गर्दै पुजारीले पिठ्युँमा बोकेर लैजाने दृश्य नै मेलाको मुख्य आकर्षण हो।

जात्राको अवसरमा सांस्कृतिक उल्लासले सम्पूर्ण वातावरणलाई गुञ्जिएको थियो। देवीलाई बेसी झारिँदा पञ्चेबाजा, खडा–खुकुरी, अविरयात्रा, शंख–घण्टका ध्वनिसहित भक्तजनको जयजयकार र उत्साह चरममा पुगेको थियो। त्रिपुरासुन्दरी माईको मूर्ति नहेरी बाटोमै बसेर पूजा गर्ने चलनले देवीप्रतिको अटुट श्रद्धालाई जनाउँछ।

त्रिपुरासुन्दरीको उत्पत्ति हिन्दू ग्रन्थहरूमा वर्णित शक्तिपीठ कथासँग जोडिएको छ। किंवदन्ती अनुसार, सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’मा त्रिपुरासुन्दरी उत्पत्ति भएकी मानिन्छिन्। स्थानीय लोककथामा भनिएजस्तै, वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा आफू रहेको स्थान देखाइदिएपछि मात्र यो मन्दिरको स्थापना भएको हो।

यस जात्राको ऐतिहासिक महत्व पनि अपार छ। नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह नुवाकोट विजयको तयारी गर्दै सल्यानकोट पुगेका थिए। मान्यता छ, यहाँ उनलाई देवीले सपनामा बालिकाको रूपमा आई दुई हातले खड्ग प्रदान गरेकी थिइन्। यही ‘देवीको खड्ग’ उनको नुवाकोट र त्यसपछिको विजययात्राको लागि शुभ संकेत बनेको इतिहास छ।