काठमाडौं। संस्थाको सफलता केवल उसको वित्तीय आकारले मात्र निर्धारण हुँदैन। त्यस संस्थाले अवलम्बन गरेका मूल्य र मान्यता, सदस्यको विश्वास, सुशासन, नवप्रवर्तन तथा समाजप्रतिको उत्तरदायित्वले पनि उसको पहिचान र विश्वसनीयता निर्माण गर्छ। यही मूल्य र मान्यतालाई आत्मसात् गर्दै चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ।
स्थापना दिवसका अवसरमा संस्थाले विगतको यात्रा सम्झिँदै आगामी दिनमा अझ गुणस्तरीय, प्रविधिमैत्री र सदस्यकेन्द्रित सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।
गौरवपूर्ण यात्रामा संस्थाले “सदस्य समर्पित अग्रणी सहकारी” भन्ने भिजन र “आर्थिक सशक्तिकरण र नवप्रवर्तनमार्फत सदस्य समृद्धिमा योगदान पुर्याउने” मिसनलाई आफ्नो मार्गदर्शक बनाउँदै आएको जनाएको छ। संस्थाले सदस्यको आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवर्द्धन तथा स्वरोजगार, सदस्य शिक्षा र सक्रियता, नवप्रवर्तन तथा प्रविधिमैत्री सेवा, साथै सुशासन र दिगोपनालाई आफ्नो रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउँदै आएको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए।
संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ का अनुसार १९ वर्षअघि २९ जना संस्थापक सदस्यबाट सुरु भएको चाइना ट्रेड आज करिब दुई हजार शेयर सदस्यको साझा संस्था बनेको छ। सदस्यको विश्वास, पारदर्शी व्यवस्थापन र समयअनुसारको सेवा विस्तारले संस्थालाई यहाँसम्म ल्याएको उनले बताए।
हाल संस्थाको सेयर पूँजी ८ करोड रुपैयाँ, कुल निक्षेप ७५ करोड रुपैयाँ र ऋण लगानी ३८ करोड रुपैयाँ पुगेको छ। आफ्नै सुविधा सम्पन्न भवनबाट प्रविधिमैत्री सेवा सञ्चालन गर्नुका साथै पूर्ण एन.एफ.आर.एस. कार्यान्वयन र पारदर्शी लेखा प्रणालीलाई संस्थाले प्राथमिकता दिएको अध्यक्ष श्रेष्ठले बताए।

संस्थाले वित्तीय सेवा मात्रै नभई सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। संस्थाले स्थापना दिवसको अवसरमा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । साथै, ६९औं राष्ट्रिय सहकारी दिवसको पावन अवसरमा रक्तदान, ४० वर्षमाथिका पुरुषका लागि प्रोस्टेट क्यान्सर परीक्षण शिविर, साना तथा मझौला उद्यमी सदस्यका लागि ‘CHITCOL Digital Catalyst’ तालिम तथा सदस्यहरूबीच सम्बन्ध सुदृढ बनाउन रिक्रियसन तथा फेलोसिप कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।