पाथीभरा देवी मन्दिरमा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख नाघ्यो


काठमाडौं । ताप्लेजुङ जिल्ला कन्चनजंग्गा हिमालको फेदिमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ ।
वर्षैभरि पाथीभरा मन्दिर जाने श्रद्धालुहरुको संख्या उल्लेख्य हुने गरेको छ, पाथीभरा देवी दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । करिब १२ हजार फिट उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शन र पूजाअर्चना गर्न जानेहरुको संख्या उल्लेख्य छ, नेपालका मात्र होइन, भारत र भुटानदेखिका हिन्दु श्रद्धालुहरु पाथीभरामा पुग्ने गरेका छन् ।

सामान्यतया ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिनको पैदल यात्रामा पाथीभरा धाम पुग्न सकिन्छ । पाथीभराबाट हिमशृङ्खला र पहाडी क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ, यस क्षेत्रमा आउने आन्तरीक र बाह्य पर्यटकको कारणबाट स्थानिय जनताको आर्थिकवृद्धि हुने छ । 

पाथीभरादेवि मन्दिर क्षेत्र विकास समितिका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम संकलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम संकलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ । त्यहाँसम्म जान ठाडो उकालो बाटो हिँड्नुपर्ने हुन्छ, त्यसैले वृद्धवृद्धा र अशक्तहरुलाई पाथीभरा क्षेत्र पुग्न समस्या हुने गरेको छ, सहज र विकल्पका बाटोहरुमा समितिले अवका योजना निर्माण गर्दै जाने लक्ष्य रहेको समितिका अध्यक्षले बताए ।

भेटी तथा चन्दा बाट संकलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । संकलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ ।