Feb 25, 2025

शक्तिशाली समुद्री आँधी फानी आउदै त्यसको केही प्रभाव नेपालमा पर्नसक्ने


ईकोनोमिक खबर, काठमाडौं। भारतमा हिन्द महासागरको फानी नाम दिईएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ लगिएको छ। उडिसाको राजधानी भुवनेश्वरस्थित मौसम केन्द्रका निर्देशक एच.आर. बिश्वासका अनुसार उडिसा राज्यका कम्तीमा ११ वटा जिल्लाहरू फानीबाट प्रभावित हुनेछन्।

२०० किलोमिटर प्रतिघण्टाको वेगमा बंगालको खाडीहुदै भारतको हिन्द महासागरको उडिसा राज्यतिर बढिरहेको छ। फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ। त्यो ओडिशाको तट हुँदै बंगलादेशको राजधानि चटगाँउतर्फ लाग्नेछ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भएपनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्नेछ।
भोलि पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ। उनले हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन्।
फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ।

नेपालको मौसम विभागले पनि पूर्वानुमान अनुसार शुक्रवार अपरान्हपछि सो आँधी नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर पूर्व जाने क्रममा धेरै नै कमजोर हुने जनाएको छ।