सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न


बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय र बागमती प्रदेश सहकारी संघ लिमिटेडको साझेदारीमा सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न भएको छ।

आज आषाढ ६ गते काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित होटल उग्रचण्डीको सभाहलमा एक दिवशीय बागमती प्रदेश स्तरीय सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री माननीय मदु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठले उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन संघका महासचिव नेत्रराज पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उदयराम कायस्थ, बहुउध्देश्यीय सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकका अध्यक्ष कर्ण बहादुर थापा, पायोनियर एशोसियट प्रा.लि.का प्रबन्ध निर्देशक पायोनियर खड्का र डिजिटल एज् नेपाल प्रा.लि. का प्रबन्ध निर्देशक दिव्येश्वरी दली रहनुभएको थियो ।

बागमती प्रदेशका ६ वटा जिल्लाबाट १२० जना विभिन्न प्रकृतिका सहकारीका व्यवस्थापन प्रमुखहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमख अतिथि माननीय मन्त्री मदु कुमार श्रेष्ठले प्रदेश सरकार सहकारीको समस्या समाधानमा केन्द्रीत भएर लागिरहेको बताउनुभयो।

र सबै पक्षको सहकार्यमा समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको बताउँदै प्रदेश सहकारी संघले सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम मार्फत् सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको थियो ।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले सरकार र सहकारी अभियान एक अर्काको परिपूरक भएकोले सहकारीलाई थप व्यवस्थित र मर्यादीत बनाउन यी दुबै पक्षबाट वर्तमान समयमा थप प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको थियो।

बागमती प्रदेश कोअपरेटिभ मेनेजर्स क्लबका संयोजक कुमार खत्रीले दीगो सहकारीको लागि सुशासन, पेशागत दक्षता र व्यवस्थापनको भूमिका विषयमा प्रस्तुतीकरण गर्नुका साथै सहभागीहरुको प्रश्नको समाधान गर्नुभएको थियो।

सहकारीमा AI प्रयोगको भुमिका विषयमा सन्दिप रानाभाट, सहकारीमा AML को महत्वको विषयमा दिव्येश्वरी दली र सहकारीको जारी मापदण्डको चुनौती, अवसर र कार्यान्वयनको चुनौती विषयमा के.बी. लामा स्याङ्तानले प्रस्तुतीकरण गर्नुभएको थियो।