नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै तारकेश्वर नगर प्रमुख


काठमाडौं  उपत्याका तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मोनालिशा होटलमा आयोजित ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तर्क्रिया तथा पत्रकार अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै ‘कोखदेखि शोकसम्म’ योजना सार्वजनिक गर्नुभएको हो।

यस योजनाअन्तर्गत अब नगरभित्र शिशु जन्मनासाथ ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने कसैको मृत्यु भएमा अन्त्येष्टिका लागि १० हजार रुपैयाँ सहयोग नगरपालिकाले दिनेछ। नवजात शिशुका नाममा दिइने रकम १६ वर्षपछि साँवा र ब्याजसहित फिर्ता गरिने व्यवस्था गरिएको छ। मृत्युजन्य खर्चले शोकमा परेका परिवारलाई सहजता ल्याउने विश्वास नगरप्रमुख महर्जनले व्यक्त गर्नुभयो।

कार्यक्रममा महर्जनले प्रत्येक शनिबार ‘चिया-चर्चा’ कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिनुभयो। साथै सञ्चारकर्मीहरूले नगरपालिका सम्बन्धी गतिविधिहरूलाई सत्य, निष्पक्ष र जिम्मेवारीपूर्वक प्रस्तुत गर्नुपर्ने आग्रह गर्नुभयो।

नगरपालिकाले ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मासिक २ हजार रुपैयाँ भत्ता दिने योजना अघि सारेको छ। साथै, महर्जनका अनुसार तीन वर्षे कार्यकालमा नगरका प्रत्येक घरमा धारा पुर्याउने लक्ष्य लिइएको छ।

नगरले खेलकुद, स्वास्थ्य, शिक्षा, र पूर्वाधार क्षेत्रमा पनि विभिन्न प्राथमिकतासहितका योजनाहरू अघि सारेको छ। यसअन्तर्गत मेयर रनिङ शिल्ड प्रतियोगिता, तिलगंगा आँखा केन्द्रको स्थायी सेवा, डायलासिस उपचार सुविधा, सामुदायिक विद्यालयको गुणस्तर सुधार, र सडक कालोपत्रे कार्यलाई तीव्रता दिइएको जनाइएको छ।

कार्यक्रममा उपप्रमुख सिर्जना बुर्लाकोटीले नगरमा सीपमूलक तालिममार्फत रोजगारी सिर्जनाको प्रयास भइरहेको बताउनुभयो। नगरपालिकाले अल्पकालीनदेखि दीर्घकालीन योजनासम्म समेट्दै समग्र विकासको खाका अघि बढाएको उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा अध्यक्ष तथा प्रवक्ता राधाकृष्ण खड्गी, वडा नं. ३ का अध्यक्ष परशुराम अर्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद आचार्य लगायतले योजनाहरू सार्वजनिक गर्नुभएको थियो।

पत्रकार अभिमुखीकरण सत्रमा प्रमुख प्रशिक्षकको रूपमा रत्न राज्यलक्ष्मी क्याम्पसका सहायक प्राध्यापक शन्तराम बिडारी, गोरखापत्र दैनिकका उपसम्पादक दीपक श्रेष्ठ, र नागरिक दैनिकका आर्थिक ब्युरो प्रमुख दिलिप पौडेलले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भूपराज बस्याल, संयोजक रिसी बस्यालको सक्रिय उपस्थिति रहेको थियो।