ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो ।
सो बैठकमा पाथीभरामा केबलकार निर्माण गर्ने भन्नेबारेमा वर्षाैंदेखि चर्चा भए पनि काम सुरु हुन नसकेकाले त्यसमा आवश्यक सहजीकरण गरी निर्माण प्रक्रिया अघि बढाउनका लागि उक्त निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरामा केबलकार निर्माण भए मन्दिरको दर्शनका लागि भक्तजनलाई सहज हुने साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र जिल्लाको आम्दानीमा समेत वृद्धि हुनेछ ।
यहाँका अधिकांश स्थानीयले लामो समयदेखि केबलकार निर्माणको चर्चा मात्र भएकाले अब काम नै सुरु गर्न माग गर्दै आएका छन् । पाथीभरा क्षेत्रमा प्राकृतिक सम्पदाको कम क्षति र मौलिकतालाई जोगाउँदै स्थनीय आम सर्वसाधारणले लाभ लिनसक्ने गरी केबलकार निर्माण गर्न मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जोड दिँदै आएका छन् ।
बुधबारको बैठकमा पनि सबैले यही धारणा राखेका थिए । कम्पनीले पनि स्थानीयको शेयर समेत रहने गरी स्थानीय साझेदारी मोडलमा केबलकार निर्माण गर्ने जनाउँदै आएको छ ।