एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना काठमाडौंमा हुने


एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा पहिलो पटक सगरमाथा आरोहीहरूको सम्मानमा एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ ।

एभरेष्ट एलायन्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मे २७ (जेठ १३ गते) मा एभरेष्ट समिटियर्स समिट हुने जानकारी दिएको हो ।

काठमाडौंको दी सोल्टी होटलमा हुने उक्त सम्मेलनमा नेपालसहित विश्वका विभिन्न देशहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहीहरुको विशेष जमघट रहने एभरेष्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए ।

लिजेण्डहरूको सम्मान, भविष्यको प्रेरणा’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा हालसम्म १६ देशका १७७ भन्दा बढी अनुभवी पर्वतारोहीहरूको सहभागिता सुनिश्चित भइसकेको अध्यक्ष नेपालले जानकारी दिए ।

‘विश्वकै सर्वोच्च शिखर सगरमाथाको नाम विश्वभर सबैले थाहा पाएकोले सुरुमा समगरमाथा आरोहीहरुकै सम्मान गर्न लागेका हौँ ।

आगामी वर्षहरुमा यसको दायरा अझै फराकिलो बनाउँदै लानेछौं’ नेपालमा विश्वकै अग्ला धेरै हिमालहरु रहेपनि सगरमाथा आरोहीलाई नै सम्मान गर्नुको कारणबारे अध्यक्ष सुदर्शन नेपालले भने ।

भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका देशका पर्वतारोही सम्मेलनमा सहभागि हुनेछन् । ती सहभागीहरूले आफ्नो अनुभव बाँड्दै साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने पनि आयोजकको विश्वास छ ।