
काठमाडौं, चालु आर्थिक वर्षको बजेटले लिएको लक्ष्यअनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ।
भौगोलिक विकटताका कारण बैंकको शाखा सञ्चालनमा नआएको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै पालिकामा बैंकिङ पहुँच पुगेको हो ।
संघीय संरचना निर्माण भएको आठ वर्षपछि गत असोजमा एभरेष्ट बैंकले साइपालमा शाखा सञ्चालनमा ल्याएको हो । संघीयता लागु भएपछि हरेक पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगे पनि साइपालमा पुगेको थिएन । सरकारले चालु आवको बजेट सार्वजनिक गर्दै यसै वर्ष साइपालमा बैंक शाखा पुर्याउने घोषणा गरेको थियो । राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको थियो ।
सडक, सञ्चार, सुरक्षा लगायतका पूर्वाधार स्थानीय स्तरसम्म उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्टले शाखा खोलेको थिएन । चालु आवको सुरुवातदेखि नै पूर्वाधार पनि बढ्दै गएकाले बैंकले शाखा विस्तारका लागि सक्रियता बढाएको थियो । आफ्नो पालिकामा बैंकको शाखा नहुँदा साइपालबासी करिब चार दिन पैदल यात्रा गर्दै सदरमुकाम चैनपुर पुगेर कारोबार गर्न बाध्य थिए । तर, अब पालिकामै बैंक पुगेपछि सहज भएको छ ।
यसबाहेक बजेटमा उल्लेख भएका अन्य कार्यक्रम भने अपूर्ण छन् । बजेटमा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तर्जुमा एवं कार्यान्वयन गर्ने बताइएको थियो । तर, यो कार्यान्वयनमा आएको छैन । यसको मस्यौदा पनि बनाइएको छैन ।