May 6, 2025

जागरण यात्रामा उत्साह थप्दै ज्यामिरेका महिलाहरू


सिन्धुली। जैविक कृषि जागरण यात्राको दोस्रो दिनमा कमलामाई नगरपालिकाको वडा नं. ४ ज्यामिरेका महिला किसान, सिन्धुलीमा विभिन्न संघ-संस्थामा कार्यरत कृषि प्राविधिक, कमलामाई नगरपालिकाका प्रतिनिधि र प्राकृतिक तथा जडीबुटी सहकारीका सदस्यहरूसँग छलफल भयो।

विगत लामो समयदेखि असल खेती अभ्यास अपनाउँदै आउनुभएका मखमली किसान समूहका महिला कृषकहरूले राम्रो उत्पादन गरे बजारको समस्या नहुने विश्वास व्यक्त गर्नुभयो।

कम विषादी प्रयोग भएका तरकारी बालीलाई सचेत उपभोक्ताले बढी मूल्य हालेर किन्ने भएकाले सबै उत्पादकले विषादी तथा रसायनको प्रयोग कम गरेर उत्पादन गर्न लागेको उहाँहरूको भनाइ थियो। रासायनिक मल जस्तै युरिया, डि.ए.पी.को विकल्पमा गँड्यौले मल तथा गोठे मल र विषादीको विकल्पमा जैविक विषादीको प्रयोग गरेर पनि राम्रो उत्पादन लिन सकिएको उहाँहरूले बताउनुभयो।

यस्तै, कमलामाई नगरपालिकाका कृषि प्राविधिकले जनप्रतिनिधिको दबाबका कारण पालिकाबाटै विषादी वितरण गर्नु परेको बताउँदै, पालिकाले जैविक विषादी वितरणलाई पनि सँगसँगै अघि बढाएको बताउनुभयो।

विगत ३ वर्षदेखि कमलामाई नगरपालिका वडा नं. ९ काउछेमा प्राकृतिक खेती गर्दै आइरहेको प्राकृतिक कृषि तथा जडीबुटी सहकारी संस्था लिमिटेडले प्राकृतिक खेतीबाट पनि व्यावसायिक उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

करिब २० विघामा बागवानी, नगदे तथा खाद्यान्न बाली उत्पादनको बारेमा सहकारीका सदस्यहरूसँगको छलफलमा सामूहिक काम गर्न सामूहिकतामा आधारित मनोविज्ञान विकास गर्न आवश्यक रहेको निचोड निस्किएको छ।

एक महिनासम्म सञ्चालन हुने जैविक यात्रामा किसान, स्थानीय तथा प्रादेशिक निकाय तथा कृषि क्षेत्रमा सरोकार राख्ने सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ।