अन्तिम सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो


ईकोनोमिक खबर, काठमाडौं। साउन महिनाको सोमबारलाई आरध्य देव भगवान शिवको प्रिय दिन मानिन्छ।

आजको दिनलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत वसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्।

साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन्। 

आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ। उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

यस पटकको साउन महिनामा पाँच वटा सोमबार परेका थिए। यसैले साउन महिना धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ।

शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए। त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ। त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ।

आज पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको छ। साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ।

यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।