
नवलपुर। प्रगतिशील युवा क्लब र कावासोती नगरपालिका वडा नम्बर १३ को समन्वयमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु भएको छ।
क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका वडा नम्बर-१३ का कार्यवाहक वडा अध्यक्ष दुर्गामाया चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घघाटन गरिएको हो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले प्रविधिमैत्री समाज निर्माणका लागि यस्ता तालिम महत्त्वपूर्ण रहने बताइन् । चौधरीले युवा वर्गलाई उद्यमशिलतामा प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै आगामी दिनमा वडा कार्यालयको कार्ययोजनामा समेट्ने प्रतिबद्धता जनाइन् ।
उक्त तालिममा ओरेकल एजुकेशन इन्स्टिट्युटका कम्प्युटर प्रशिक्षक अनिश पौडेलको सहजिकरण रहेको थियोे। पौडेलले युवा वर्ग र प्रविधिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै प्रविधिको सही उपयोगले युवाहरूलाई आत्मनिर्भर बनाउन सकिने बताए।
डिजिटल उद्यमशिलता अहिलेको आवश्यकता भएकाले यस्तो तालिमले सहभागीहरूलाई नयाँ सीप दिलाउने पौडेलको भनाइ छ।
यस्तै, उक्त तालिममा डिजिटल उद्यमशिलताको आधारभूत ज्ञान, प्रविधिको उपयोग, अनलाइन व्यवसाय प्रवर्द्धन तथा डिजिटल मार्केटिङका विषयमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ।
स्थानीय युवा र विद्यार्थीहरु उपस्थित रहेको तालिम १० दिनसम्म सञ्चालन हुनेछ।