बुधबार साँझ ६ बजे दशरथ रंगशालामा नेपाल र म्यानमार आमनेसामने


काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप उपाधिका लागि आज घरेलु टोली नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दै छन् । दुवै टोली मैत्रीपूर्ण च्याम्पियन्सिपको उपाधि जित्ने लक्ष्यमा छन् ।

समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को रोचक बराबरीमा टुंगिएको थियो । यसले दुवै टिमको प्रतिस्पर्धात्मक क्षमताको झल्को दिएको छ । यही कारण उपाधि भिडन्त रोमाञ्चक बन्ने पक्का छ ।

नेपाली प्रशिक्षक राजेन्द्र तामाङ र म्यानमारको राष्ट्रिय टिमका जापानी कोच तेत्सुको युकीको टोली बुधबार साँझ ६ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन् ।

लिग चरणमा अपराजित दुवै टोली च्याम्पियन बनेर आउँदो विश्वकप र एसियन कपमा छनोट हुनेसम्मको उत्कृष्ट तयारी देखाउन चाहन्छन् ।

लिग चरणमा नेपालले कीर्गिस्तान र लेबनानलाई समान १-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । म्यानमार लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराउादै उपाधि नजिक पुगेको हो ।