विदेश त्यागेर स्वदेशमै भविष्य खोजीरहेका श्याम तामाङ


रौतहट । मधेशमा चिसो धमाधम ओरालो लाग्दै छ, बिस्तारै तापक्रम उकालो लाग्दै छ । अचेल मधेशमा तापक्रम बढेसँगै बिहानैदेखि बजार र सडकमा मानिसहरूको चहलपहल शुरु भएको छ। सडक, बाटो र बारीमा मानिसहरूको ओहोरदोहोर बढ्न थालिसकेको छ । आँखाले देख्‍न सकिने पर-परका खेतबारीमा मानिसहरू देखिन थालेका छन्।

रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर-१ को फ्रेसकेटीएम फार्मका कामदारलाई बिहानैदेखि कामको चटारोले छोएको छ। सबैजना फार्ममा आफ्नै जिम्मेवारी पूरा गर्न तल्लिन देखिन्छन्।

फार्ममा रहेका कामदार खेतमा माटो तयार पार्दैछन्। केही सहयोगी हाँस, कुखुरा र गाईभैंसीहरूको हेरचाह गर्दैछन्। कोही फार्ममा फलेका तरकारी टिप्न व्यस्त देखिन्थे । कसैलाई स्थानीय बजारमा पुर्‍याउन हतारो भएको जस्तो लाग्थ्यो । फार्मकै गाडीमा तरकारी हालिरहेका छन्।

सबै आ-आफ्नै काममा व्यस्त रहँदा रातो वर्णका मझौला कदका एक युवकको प्रवेश हुन्छ, श्याम तामाङ। जसले फार्ममा सुपरभाईजरको काम पाएका छन् । बिहानैदेखि फार्ममा रहेका सबै साथीहरूलाई काम लगाउनु र बारीमा भएका तरकारीहरूको हेरचाह गर्नु उनको पहिलो जिम्मेवारीमा पर्छ ।

सय बिघामा लगाइएका तरकारीको हेरचाह मात्र नभइ फार्ममा रहेका अन्य कर्मचारीको काम पनि श्यामले हेर्छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर -४ का श्यामले प्राथमिक शिक्षा गाउँबाटै हासिल गरे । स्थानीय विद्यालयमा आफूलाई पुग्ने ज्ञान र विद्या आर्जन गरिसकेको उनको तर्क छ । प्राथमिक शिक्षा मात्र पूरा गरे पनि अध्ययनको कमी भएको महसुस उनले गरेनन् ।

जसले पढेरभन्दा गरेर जाने
मध्यम वर्गीय परिवारमा हुर्किएका उनी आफूलाई काम गर्न रुचाउने र मेहनतीमै गणना गर्छन्। श्याम भन्छन्,’घर-परिवारका अन्य सदस्यले काम र दुःख नगर । सकेको हामी सहयोग गर्छौ भन्छन् । मनले मान्दैन । सकेसम्म आफैँ काम गरेर खान मन छ ।’ जापानमा रहेका भाइ र बहिनीले श्यामलाई काम गर्नु पर्दैन भन्छन् । आफ्नो पाखुरा चलेसम्म काम गरेर खानु पर्छ भन्ने भनाइलाई आत्मसाथ गरेकाले उनी परिश्रम गर्नबाट कहिल्यै टाढा हुँदैनन् ।

श्याम बिहान ६ बजेदेखि साँझ ६:३० बजेसम्म फार्ममा व्यस्त रहन्छन् । दिन लामो हुँदै गएपछि कोहीबेला राति ९:३० बजेसम्म फार्ममा व्यस्त रहने श्यामले बताए । ‘काम गर्न सहज छ। आफूले गरेको भिन्न पेशाभन्दा फरक काम गरिरहेकाले नौलो अनुभव प्राप्त गरिरहेको छु’, श्यामले भने। यसभन्दा अघि उनी काठमाडौंमै सवारी चालक थिए । ३ वर्षसम्म सवारी चालकको उनीसँग अनुभव छ । अहिले भने फार्ममा श्यामको दैनिकी बितिरहेको छ। जहाँ उनी चालक होइन सुपरभाइजर छन्।

श्यामले फार्ममा काम गरेको १ वर्ष भयो । उनको मातहतमा ७० जना कर्मचारी र दैनिक ज्यालादारी ३० जना छन् । श्यामले झण्डै ७ वर्षको विदेश बसाइँलाई बिट मारेर गाडी लिएर २ वर्ष चलाए । उनी कामलाई सानो – ठूलो भनी विभेद गर्दैनन् । खल्तीमा लाइसेन्स बोक्ने यतिखेर श्याम मेलामा धानको भारी बोकेर बसेका छन् । जहाँ प्रकृति र प्राणीसँग मात्रै रमाएका छैनन् , दैनिक माटोसँग पैंठेजोरी खेल्छन् । उनी फ्रेसकेटीएममा ड्राइभिङ गर्थे । गाडी चलाउन आएका उनले सीप र क्षमताले गर्दा आफूलाई भीडभन्दा फरक उभ्याएका छन् । सिक्न आएका उनी अहिले भने अरुलाई सिकाउन थालेका छन् ।

सय जनाको कामदारको नेतृत्त्व
सय जना कामदारलाई काममा अह्राउने जिम्मा श्यामको छ । सबैले काम गरेको र नगरेको रेखदेख आफूले गर्ने गरेको उनी बताउँछन् । श्यामले अवसर पाए । सजिलो काम त्यागेर नयाँ र नौलो ज्ञान सिक्न रौटहटको गर्मीलाई पछ्याउँदै पुगे । उनलाई गाडीमा बसेर काम गर्नु सजिलो थियो । नयाँ कुरा सिक्न र फरक भूगोलमा जीवनयापन गर्न चाहने रुचीले श्य ामफार्मले तान्यो । ‘मेहनती र इमान्दारी भएकाले यो ठाउँमा पुगेको छु’, ३६ वर्षीय श्यामले भने,’ इमान्दार भएर सिधा बाटोमा हिँड्ने आफ्नो जिम्मेवार पूरा गर्ने हो मानिसले आफ्नो लक्ष्य हासिल गर्छन् । समस्यासँगै समाधान पनि आउँछ । समस्या पर्‍यो भनेर आँत्तिन हुँदैन ।’ तामाङले खेतीपाती, मलखाद व्यवस्थापन, पशुपालन र सिंचाइ प्रणाली सिके । सप्लाई चेन व्यवस्थापन, गोदाम र ढुवानी नियन्त्रण गर्ने जिम्मेवारी पाए । पढेर पाएको शिक्षाभन्दा व्यवहारिक शिक्षा उनले महत्त्वपूर्ण ठाने । यो सबैको परिणाम भनेको निरन्तर लगाव, इमान्दार तथा विश्वास रहेको उनी मान्छन् । अहिलेको समयमा मानिस प्रविधिसँग अपडेट हुनुपर्छ । परिवर्तनसँगै मानिसको जीवनमा नयाँ – नयाँ अवसर आउने गर्छ । श्यामले पनि प्रविधिका बाटोलाई पछ्याएर आफूलाई सजिलो बनाएको ठान्छन् । त्यसैको फलस्वरुप तामाङले आधुनिक कृषि फार्ममा सम्पूर्ण जिम्मेवारी पाएका छन् ।

‘सडकको अनुभवबाट एक्कासी कृषि फार्ममा पुग्नु वास्तविक जीवन सिकाइको पाठशाला रहेछ,’ तामाङले उत्साहित हुँदै भने,’नदेखिएका हरेक कुराको आफ्नै अस्तित्व रहेको र यहाँ आएपछि त्यस्ता विषयको महत्त्व बुझेको छु ।’ संकलन केन्द्रमा तामाङले कामको वर्गीकरण बुझे । हरेक कामको महत्त्व हुन्छ । फार्ममा अझ बढी वर्गीकरण हुने रहेछ । तामाङले तरकारी वर्गीकरण, प्याकेजिङ र वस्तुको गुणस्तरका काम सिके । कसरी यहाँका वस्तुहरू बजारसम्म पुर्‍याउँने र बजारलाई फार्ममा ल्याउने त्यो महसुस गरे । श्याम परिवारका जेठा छोरा हुन् । सानैमा जिम्मेवारीको बोझ उनको काँधमा आयो । उनले देश छाडे इराक र मलेसियालाई कर्मभूमी बनाइसकेका छन् । झण्डै ७ वर्ष विदेशमा बिताएका तामाङले अब भने काम पाएसम्म नेपाल नछाड्ने योजना बनाएका छन् ।

समय – समयमा परिवार भेट्न काठमाडौं गइरहन्छन् , तर कोहीबेला भने परिवारका सदस्य पनि उतै जान्छन् । उनका १ छोरा र १ छोरी छन् । एकदिन श्याम भएको ठाउँमा छोरी पुगिन् । उनले बुबालाई पहिलोपटक नेतृत्वको भूमिकामा देखिन् ।

उनले भावुक हुँदै भने,’छोरीले बुबालाई सम्मान गरेको देखिन् । अरुले सर भनेर बोलाएको सुन्दा अचम्म मानिन् । पुनः छोरीको भनाइ उद्दत गर्दै तामाङले सुनाए,’पापा, मैले कहिल्यै सोचेको थिइनँ कि तपाईं नेता हुनुहुदाे रहेछ।