प्रभु साहले श्रेणीविहीन कर्मचारीको बारेमा उठाए प्रश्न,


प्रभु साहको प्रश्न, ‘कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ता किन नगरेको ?’

श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको सरकारसंग माग

सरकारलाई प्रभु साहको प्रश्न : ‘तल्लो तहका मान्छेले जहिल्यैपनि अरूकै निगाहमा जीवन बाँच्नुपर्ने हो ?’

प्रभु साहले श्रेणीविहीन कर्मचारीको बारेमा उठाए प्रश्न, ‘नेता र हाकिम कर्मचारीको चाकडी गरेर श्रेणीविहीन कर्मचारीले काम गरेर कहिलेसम्म बाच्नु पर्ने ?’

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने माग सरकारसंग गरेका छन् ।

लोक सेवा आयोगले उनीहरुलाई भर्ना गरेर रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग उनले गरेका छन् ।

आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले नेता र हाकिम कर्मचारीको चाकडी गरेर श्रेणीविहीन कर्मचारीले काम गरेर कहिलेसम्म बाच्न पर्ने भन्दै स्थायी गरेरै उनीहरुको रोजगारीको सुनिश्चितता गर्नुपर्ने सुझाव दिए ।

‘सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपर लगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भैरहेको छ । जागिर नै पूरै असुरक्षित छ, जागिर कन्टिन्यूको लागि शासक र नेताहरुलाई गुहारिरहनुपर्ने, चाकडी गर्नुपर्ने बाध्यता छ,’ साहले भने, ‘म यो सरकारलाई सोध्न चाहन्छु कि ती पोष्टहरुमा स्थायी भ्याकेन्सी गरेर पदपुर्तिको काम के ले रोक्यो ? आजभोलि लोकसेवा आयोगले जतिपनि विज्ञापन गरिरहेको छ, कक्षा १२ भन्दा माथिको मात्रै भैरहेको छ, के ती श्रेणीविहीन पोष्टहरु सरकारी निकायबाट हटाईएको हो ? ती पोष्टहरुको जरुरी छैन् ? सरकारी निकायमा गाडीको जरुरी छ भने ड्राइभरको किन विज्ञापन हुँदैन ? के चालकहरु नेपाली नागरिक होईनन ? के गरिवहरु नेपाली नागरिक होईनन ?’

तल्लो तहमा काम गर्ने कर्मचारीहरुले राज्यमा कुनै एप्रोच नपाउने र जहिल्यैपनि उनीहरुले चाकडीमात्रै गर्नुपर्ने हो र ? भन्दै साहले प्रश्न उठाए । तल्लो तहका मान्छेले जहिल्यैपनि अरुकै निगाहमा जीवन बाँच्नुपर्ने हो ? र यस्तै अवस्थाको लागि नेपाली नागरिकले लडेर गणतन्त्र ल्याएको हो ? भन्दै साहले प्रश्न गरे ।

‘हिजो राजतन्त्रमा त यी पोष्टमा स्थायी भ्याकेन्सी हुन्थे । उनीहरुले पनि पेन्सन पाउँथे । उनीहरुपनि सम्मानित भएर मानव जीवन बाँच्थे, तर आज जसरी नारकीय र दासताको जीवन बाँच्नुपर्ने स्थिति छ, यसको अन्त्य होस भन्न चाहन्छु,’ साहले भने ।

उनले निजामती ऐनमार्फत अहिले नारकीय जीवनयापन गर्न बाध्य भएका तल्लो तह र श्रेणीविहीन कर्मचारीको भावना र माग सम्बोधन होस भन्ने माग गरे । कतिपय शासकहरुले तल्लो तहका कर्मचारीलाई स्थायी गरियो भने आफ्नो टाउकोमा नै टेक्छन् भन्नेगरि बहस गरेको पनि साहको आरोप छ ।

आजपा अध्यक्ष साहले गरिबमारा कानून आफूहरुलाई नचाहिएको चेतावनी दिदै भने, ‘हिजो पञ्चायतकालमा न्याय पाउने तर आज गणतन्त्रमा कम्युनिष्टहरुको सरकार हुँदापनि यसरी अन्याय भैराख्दा आम मान्छेले स्वभाविक मानेको छैन् । यतातिर म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’

साहले आज विहान ११ बजे टेकुको एक कवाड सेन्टरमा काम गर्ने मजदुहरुमाथि भएको सांघातिक हमलाको विरोध गरे । उनले भने, ‘कथित महानगरका प्रहरी भन्नेहरुबाट मजदुरमाथि हमला भएको छ । महानगरका ती कथित प्रहरी जथ्थाबाट हमला भएको छ । मजदुरलाई घाईते बनाएका छन् । अदालतको आदेशविपरित काठमाडौ महानगरपालिकाले अहिले गुण्डागर्दी प्रस्तुत गरिरहेको छ । के अहिलेको सरकार कानून वहालीको लागि सक्षम छैन ? यदि सक्षम छ भने सबैको जिउधनको सुरक्षा गर्न सक्रियता देखायोस भन्ने आग्रह गर्न चाहन्छु ।’