काठमाडौं । भोटेकोशी–त्रिशूली विपत्तिपछि पहिचान हुन बाँकी व्यक्तिहरूको डीएनए परीक्षणलाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली समुदायले नेपाल सरकारलाई दुई सेट डीएनए परीक्षण प्रणाली तथा १० मिलियन रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्वअध्यक्ष कुल आचार्य र गैरआवासीय नेपाली अभियन्ता उत्तम नेपालको संयुक्त पहलमा QIAGEN TissueLyser III प्रणालीका दुई पूर्ण सेट नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। उत्तम नेपालले १० मिलियन रुपैयाँ नगद सहयोगसमेत प्रदान गरेका छन्।
कात्तिक ९ गते परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा परराष्ट्रमन्त्रीको उपस्थितिमा उक्त डीएनए परीक्षण प्रणाली नेपाल सरकारलाई हस्तान्तरण गरिएको आचार्यले बताएका छन्।
मन्त्रालयले नेपालमा परीक्षणको पर्खाइमा रहेका झण्डै आठ हजार डीएनए नमुना परीक्षण गर्नुपर्ने जानकारी दिएको छ। नयाँ उपकरण सञ्चालनमा आएपछि ती नमुनाको परीक्षण प्रक्रियालाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विपत्तिपछि पहिचान हुन बाँकी रहेका व्यक्तिहरूको पहिचान प्रक्रियामा डीएनए परीक्षण महत्वपूर्ण हुने भएकाले उपकरण हस्तान्तरणले खोज तथा पहिचानसम्बन्धी कामलाई थप प्रभावकारी बनाउने विश्वास सहयोगदाताहरूले लिएका छन्।
हस्तान्तरण गरिएका उपकरण नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत सञ्चालनमा ल्याउने तयारी रहेको जनाइएको छ।
यस अवसरमा गैरआवासीय नेपाली नागरिकता, एनआरएन कार्डलगायत विश्वभर रहेका गैरआवासीय नेपाली समुदायका विभिन्न महत्वपूर्ण मुद्दाबारे पनि परराष्ट्रमन्त्रीसँग छलफल गरिएको कुल आचार्यले बताएका छन्।
उनका अनुसार परराष्ट्रमन्त्रीले चालु आर्थिक वर्षभित्रै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार गर्न सरकारले काम गरिरहेको जानकारी दिएका छन्। यसले विश्वभर रहेका नेपाली समुदायमा सकारात्मक आशा र उत्साह जगाएको आचार्यको भनाइ छ।
आचार्यले विपत्तिपछि विश्वभरका गैरआवासीय नेपाली समुदायबाट प्राप्त भइरहेको सद्भाव, सहयोग र परोपकारी सेवाले नेपाल र नेपालीको सुखदुःखमा साथ दिने साझा प्रतिबद्धतालाई थप बलियो बनाएको बताए।
उनले डीएनए परीक्षण प्रणाली नेपालसम्म ल्याउन आवश्यक पहल, सहयोग र समन्वय गर्ने परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), नेपाल प्रहरी, गैरआवासीय नेपाली समुदाय र अन्य सरोकारवालाको सहयोगप्रति समेत उनले आभार व्यक्त गरेका छन्।
“विश्वभर छरिएर रहेका नेपालीहरूको एकता, सद्भाव र सहयोगले नेपालको मानवीय अभियानलाई बलियो बनाएको छ,” आचार्यले भने, “नेपाल र नेपालीको सेवामा हाम्रो सहकार्य, सद्भाव र समर्पण निरन्तर कायम रहनेछ।”