काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित ‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८३’ आजदेखि सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले प्रदर्शनीको आयोजना गरेको हो।
‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ सुरु भएको प्रदर्शनी कार्तिक १६ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदानमा संचालन हुनेछ । नेपालीहरूको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आँगन बगैंचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि प्रदर्शनी गर्दै आएको छ । नेपालको एक मात्र बृहत गोदावरी गोदावरी फूल प्रदर्शनीमा व्यवसायिक स्टल ७८ वटा, प्लान्ट क्लिनिक स्टल १ वटा, अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक स्टल २ वटा र फोटो सेल्फी स्टल १ वटा गरी जम्मा ८६ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । आयोजकका अनुसार यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस वर्ष भित्रिएका नयाँ गोदावरी फूलको केहि प्रजातीका फूल बिरुवाहरुको सहित ४ सय ५० भन्दा बढी प्रकारको फूल बिरुवाहरु यस प्रदर्शनीमा प्रदर्शीत तथा बिक्री / वितरणको लागि राखिएको छ । उक्त प्रदर्शनीमा ३९ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड ३० लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीको समुद्घाटन समारोहमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय (बागमती प्रदेश) को मन्त्री रमा आले मगरले स्वदेशी फूलको उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिनु पर्ने बताएकी छन् ।‘हामी सबैलाई थाहा नै छ, फूल जीवन सजावट र देखाउने वस्तु मात्र नभएर हाम्रो धर्म, संस्कृति, चाडपर्व र दैनिक जीवनकै एउटा महत्त्वपूर्ण अभिन्न अङ्ग बनिसकेको छ । जन्मदेखि मृत्युसम्म, विवाह वा पूजाआजा, स्वागत होस् वा श्रद्धाञ्जली, हाम्रो जीवनका हरेक कार्यहरू फूलबिना पूर्ण हुन सक्दैनन्’ आले मगरले भनिन् । आले मगरका अनुसार पुष्प व्यवसायमा ६० हजारभन्दा बढी नेपाली नागरिक जोडिएका छन् । विशेषगरी महिला र युवाहरू यस व्यवसायमा संलग्न हुनु उत्साहजनक रहेको मगरले बताइन्, तर वार्षिक करिब २६ करोड रुपैयाँभन्दा बढीको फूल तथा पुष्पजन्य वस्तु आयात भइरहेको तथ्यले नेपाल अझै पनि पुष्प बीउ, कट फ्लावर र आलंकारिक बोटबिरुवामा परनिर्भर रहेको आले मगरको भनाइ छ । ‘चाडपर्व विशेषमा व्यवसाय ह्वात्तै बढ्ने र त्यसको मागलाई हाम्रै स्वदेशी उत्पादनले धान्न सक्ने अवस्था बनाउनु आजको आवश्यकता हो । सयपत्री, गुलाब, कार्नेसन, सुनाखरी र लिली जस्ता बजारमा राम्रो सम्भावना भएका फूलहरूको व्यावसायिक विस्तारमा सरकार र व्यवसायी दुवै मिलेर लाग्नुपर्छ,’ आले मगरले भनिन् । मन्त्री आले मगरले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्ने बताइन् ।
‘सरकारको ‘बाई नेपाली फर्स्ट’ अर्थात् पहिलो प्राथमिकता नेपाली उत्पादनलाई दिने नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुमा पनि प्रतिस्पर्धाका साथ लागु गर्नुपर्छ र यसका लागि बागमती प्रदेश सरकारले आवश्यक पहल गर्ने छ भनेर यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु । नेपाली फूल नै प्रयोग गरौँ, हाम्रै स्वदेशी उत्पादनलाई माया गरौँ भन्ने भावना हरेक घर, कार्यालय, होटेल र रेस्टुरेन्टसम्म पुग्नु पर्दछ,’ आले मगरले भनिन् । आले मगरले पुष्प व्यवसायलाई आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन संरक्षित खेती, ग्रीनहाउस, थोपा सिँचाइ तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी ज्ञान र प्रविधिको विस्तारमा जोड दिनुपर्ने बताइन् । त्यस्तै, पुष्प व्यवसायको दिगोपनका लागि उत्पादनसँगै बजारको सुनिश्चितता आवश्यक रहेको आले मगरले बताइन् । उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विकास गर्न, आधुनिक पुष्प बजार निर्माण गर्न तथा डिजिटल मार्केटिङ र अनलाइन बिक्रीलाई प्रोत्साहन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनु पर्ने आले मगरको भनाइ छ ।