शव व्यवस्थापनको क्रममा अवरोध नगर-राष्ट्रिय मानवअधिकार आयोग


ईकोनोमिक खबर, काठमाडौं।
पोखरामा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधिहरु तथा बासिन्दाहरु बीच भएको झडपको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ ।
कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीय सँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयले अवरोध गरेको र स्थानीयको अवरोधका बीचपनि सुरक्षाकर्मीहरुबाट बल प्रयोग गरी शवको व्यवस्थापन गर्ने क्रममा स्थिति तनावपूर्ण भएको आयोगको अनुगमन बाट देखिएको छ ।
कुनैपनि व्यक्तिको मृत्यु पश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्परा अनुसार शवको अन्त्येष्ठि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानूनका साथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूति गरेको छ । नेपाल सरकारले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापनको लागि कार्यविधि समेत निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
अतःकोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयनमा स्थानीय निकायसँग समन्वय गर्दै अगाडि बढ्ने वातावरणको सिर्जना गर्न आयोग नेपाल सरकार, स्थानियतह सम्बनिधत सबैलाई आग्रह गर्दछ ।