ईकोनोमिक खबर, काठमाडौं।
भरिको सट्टा अब उपभोक्ताले आधा ग्याँस सिलिन्डर पाउने भएका छन्।
नेपाल आयल निगमले माग भन्दा बढी आयात गर्दा पनि ग्याँसको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्याँस उपलब्ध गराउन लागिएको हो। यसअघि बजारमा १४.२ किलो ग्यास भएको सिलिन्डर बिक्री वितरण हुँदै आएको थियो । नाकाबन्दीको समयमा पनि एलपिजि ग्याँसको चरम अभाव भएपछि केही समय आधा सिलिन्डर ग्यास प्रयोगमा ल्याइएको थियो । नेपाल आयल निगमले आज ७.१ किलो ग्याँस भएको सिलिन्डरको नयाँ मूल्य तोकेको छ।
निगमका अनुसार तराई क्षेत्र बाहेक काठमाडौँ उपत्यका लगायतका अन्य स्थानमा ग्याँसको खुद्रा मूल्य प्रतिसिलिन्डर ६८७ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै तराई क्षेत्रका लागि प्रतिसिलिन्डर ६७७ रुपैयाँ ५० पैसा र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रतिसिलिन्डर रु ६७० तोकिएको छ।
सरकारको निर्णय सँगै ग्याँस उद्योगीले आधा सिलिन्डर ग्याँस भरेर बजारमा पठाउन थालिसकेको एलपी ग्याँस उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो । “सबै जनताको घरमा चुल्हो बलोस् भनेर नै आधा सिलिन्डर ग्याँस बजारमा पठाउन लागेका हौँ”, उहाँले भन्नुभयो, “बजारमा पठाइएका आधा सिलिन्डर ग्यास स्थानीय प्रशासनको रोहबरमा बिक्री वितरण हुन्छन्।”