ईकोनोमिक खबर, काठमाडौँ।
सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ। मङ्गलबार भन्दा प्रतितोला ४ सय रुपियाँले वृद्धि भई बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार आठ सय रुपियाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
गत पुसमा अमेरिका र इरानबीच तथा अमेरिका र चीनबीचको द्वन्द्व बढेका कारण सुनको मूल्य निरन्तर बढेर ७५ देखि ७६ हजार रुपियाँ पुगेको थियो तर यतिबेला भने चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड १९ (कोरोना)भाइरसको प्रभाव सुन बजारमा पनि परेको बजार विश्लेषकहरूको भनाई छ। उक्त (कोरोना)भाइरसको प्रकोपका कारण लगानीकर्ता सुन बजारमा केन्द्रित भएका कारण सुनको मूल्य बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १६०७।८० डलर पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ६।६० डलर बढेको हो । एक औँस बराबर ३१ ग्राम हुन्छ । सुनको मूल्यवृद्धिको प्रवृत्ति हेर्दा नेपाली बजारमा प्रतितोला करिब ८० हजार रुपियाँ पुग्ने अनुमान गरिएको सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । सुनको मूल्यले दिनहँु नयाँ रेकर्ड बनाए पनि नेपाली बजारमा सामान्य चहलपहल भने देखिएको छ। विवाह, ब्रतबन्धलगायतका शुभ साइत परेका कारण पनि बजारमा सुन खरिदकर्ता रहेको बज्राचार्यले बताउनुभयो । माघ महिनाभर हेर र पर्खको मुडमा बसेका ग्राहक फागुन लागेपछि भने सुन खरिदमा लागेको उहाँको भनाइ छ।
फागुन लागेपछि दैनिक २० देखि २५ के.जी.सम्मको व्यापार हुने गरेको बज्राचार्यले बताउनुभयो । नयाँ सुन खरिद गर्ने भन्दा महँगोले गर्दा पुराना साटफेर गर्ने पनि उत्तिकै बढि रहेको उहाँको भनाइ छ । सुनको मूल्यसँगै चाँँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ९०५ रुप्ैयाँ पुगेको छ।