अटो शो गाडी बेच्ने मेला मात्रै होइन, नेपालको अटोमोबाइल उद्योगको भविष्य देखाउने मञ्च हो’


नाडा अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँगको कुराकानी

काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्रलाई सरकारले अझै पनि मुख्यतः निजी सवारीसाधन आयात र बिक्रीसँग जोडेर हेर्ने गरेको छ। तर यस क्षेत्रले रोजगारी, राजस्व, व्यापार, कृषि तथा औद्योगिक उत्पादनको ढुवानी र पूर्वाधार विकासमा पुर्‍याएको योगदान निकै ठूलो रहेको नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्र कुमार उप्रेती बताउँछन्।

उनका अनुसार अटोमोबाइल उद्योगलाई केवल गाडी बिक्री गर्ने व्यवसायका रूपमा नभई अर्थतन्त्रको उत्पादन तथा आपूर्ति शृंखलासँग जोडेर हेर्न आवश्यक छ। नाडाको आधिकारिक विवरणले पनि अटोमोबाइल क्षेत्रले सरकारको कुल राजस्वमा २० प्रतिशतभन्दा बढी योगदान र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो रोजगारी सिर्जना गरेको दाबी गरेको छ।

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ आयोजना हुँदैछ। नाडाका अनुसार यसपटकको प्रदर्शनीमा सवारीसाधनसँगै पार्टपुर्जा, लुब्रिकेन्ट्स, ब्याट्री, टायर, ग्यारेज उपकरण, चार्जिङ पूर्वाधार, वित्तीय सेवा तथा अन्तर्राष्ट्रिय व्यवसायका अवसरलाई समेत एउटै प्लेटफर्ममा ल्याइएको छ।

यही सन्दर्भमा नाडा अध्यक्ष उप्रेतीसँग गरिएको कुराकानी :

प्रश्न : १८औँ नाडा अटो शोको मुख्य विशेषता के हो ?

उप्रेती : हरेक वर्ष नाडा अटो शोमा केही नयाँ गर्ने प्रयास हुन्छ। यसपटक पनि हामीले सवारीसाधनलाई मात्र केन्द्रमा राखेका छैनौँ। अटोमोबाइल भनेको गाडी मात्रै होइन। गाडीसँग जोडिएका पार्टपुर्जा, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, ग्यारेज इक्विपमेन्ट, चार्जिङ पूर्वाधार, वित्तीय सेवा र बीमा पनि यही उद्योगका महत्वपूर्ण हिस्सा हुन्।

त्यसैले उपभोक्ताले गाडी हेर्न आउने मात्र होइन, गाडी किनेपछि आवश्यक पर्ने सम्पूर्ण सेवा र प्रविधिबारे जानकारी लिन सक्ने वातावरण बनाउने प्रयास गरेका छौँ।

प्रश्न : यसपटकको अटो शोमा गाडीभन्दा बाहेकका कम्पनीको उपस्थिति पनि ठूलो देखिन्छ नि ?

 हो। हामीले अटोमोबाइलको सम्पूर्ण इकोसिस्टमलाई एउटै ठाउँमा ल्याउन खोजेका छौँ। आज एउटा व्यक्ति गाडी किन्दा त्यसको मूल्य मात्र हेर्दैन। उसले फाइनान्सिङ कति पर्छ, बीमा कति लाग्छ, सर्भिसिङ खर्च कति हुन्छ, टायर र ब्याट्रीको लागत कस्तो हुन्छ, चार्जिङ सुविधा कहाँ छ भन्ने पनि हेर्छ।

त्यसैले अटो शो अब केवल नयाँ मोडल हेर्ने ठाउँ होइन। यो उपभोक्तालाई गाडीको वास्तविक स्वामित्व लागत बुझाउने प्लेटफर्म पनि हो।

प्रश्न : विद्युतीय सवारीसाधनको बढ्दो बजारलाई नाडाले कसरी हेरेको छ ?

 विद्युतीय सवारी अब रोक्न सकिने वा रोक्नुपर्ने विषय होइन। विश्व बजार नै विद्युतीय सवारीतर्फ गइरहेको छ। नेपालले पनि त्यसअनुसार पूर्वाधार र नीति बनाउनुपर्छ।

ईभीलाई प्रोत्साहन गर्ने हो भने चार्जिङ पूर्वाधार, सडक, विद्युत् आपूर्ति, फाइनान्सिङ र कर नीतिमा दीर्घकालीन स्पष्टता आवश्यक छ। नीतिमा बारम्बार परिवर्तन हुँदा व्यवसायी र उपभोक्ता दुवैलाई समस्या हुन्छ।

प्रश्न : सरकारसँग नाडाको मुख्य अपेक्षा के हो ?

 हाम्रो पहिलो अपेक्षा नीतिगत स्थिरता हो। अटोमोबाइल उद्योगमा ठूलो लगानी भएको छ। त्यसैले कर, आयात, फाइनान्सिङ, ईभी र अन्य नीतिमा स्थिरता आवश्यक छ।

अर्को महत्वपूर्ण विषय सडक पूर्वाधार हो। सरकारले पूर्वाधार कर लिन्छ भने त्यसको प्रभाव सडकमा देखिनुपर्छ। सडक राम्रो भएन भने सवारीसाधनको लागत बढ्छ, दुर्घटना बढ्छ र उपभोक्ताले अनावश्यक खर्च बेहोर्नुपर्छ।

हामीले सडक पूर्वाधारको विकास आवश्यकता र ट्राफिक चापअनुसार गर्नुपर्छ भन्दै आएका छौँ। आवश्यक ठाउँमा अन्डरपास, फ्लाइओभर वा टनेल निर्माण गरेर यात्रा दूरी र समय घटाउनुपर्छ।

प्रश्न : नेपालमा अटोमोबाइल उद्योगलाई अझै पनि विलासिताको वस्तुसँग जोडेर हेर्ने प्रवृत्ति छ । तपाईंको धारणा ?

 यो धारणा परिवर्तन हुनुपर्छ। अटोमोबाइल भनेको निजी कार मात्रै होइन। कृषि उत्पादन बजारसम्म पुर्‍याउन, निर्माण सामग्री ओसार्न, उद्योग सञ्चालन गर्न, पर्यटन चलाउन र दैनिक आवागमनका लागि सवारीसाधन आवश्यक छ।

त्यसैले अटोमोबाइल क्षेत्रलाई केवल निजी सवारीसाधनको बजारका रूपमा हेर्नु गलत हुन्छ। यो अर्थतन्त्रको उत्पादन र वितरण प्रणालीसँग जोडिएको क्षेत्र हो।

प्रश्न : नाडा अटो शोमा सहभागी हुन चाहने ब्रान्ड र कम्पनीको आकर्षण कस्तो छ ?

 अटो शोप्रति व्यवसायीको विश्वास बढेको छ। नाडाको आधिकारिक स्टल वितरण विवरणअनुसार यसपटक प्यासेन्जर भेहिकल, दुईपांग्रे, लाइट कमर्सियल भेहिकल र अटो कम्पोनेन्ट्सका लागि ठूलो सहभागिता रहेको छ।

हामी सबै व्यवसायी र ब्रान्डलाई एउटै मञ्चमा ल्याउने प्रयासमा छौँ। नेपालमा व्यवसाय गर्ने सबैलाई समेटेर अगाडि बढ्नु नाडाको प्राथमिकता हो।

प्रश्न : नाडाभित्रको एकता र व्यवसायीबीचको सहकार्यबारे पनि प्रश्न उठ्ने गरेको छ नि ?

 नाडा सबैको साझा संस्था हो। केही असहमति वा फरक धारणा हुन सक्छन्। तर त्यसकै कारण व्यवसायीबीच दूरी बढ्नु हुँदैन।

मैले अध्यक्षको जिम्मेवारी सम्हालेपछि पुराना सदस्य र व्यवसायीलाई समेत संवादमा ल्याउने प्रयास गरिरहेको छु। घरमा सानो विषयमा रिसाएर बाहिरिँदैमा घरप्रतिको माया सकिँदैन। हामी सबैलाई समेटेर नाडालाई अझ बलियो बनाउन चाहन्छौँ।

प्रश्न : नेपालमा ठूलो अन्तर्राष्ट्रिय स्तरको अटो एक्स्पो आयोजना गर्न अझै समस्या छ ?

 ठूलो समस्या नै प्रदर्शनीस्थलको अभाव हो। नेपालमा अन्तर्राष्ट्रिय स्तरको ठूलो प्रदर्शनीस्थल छैन। भृकुटीमण्डपमा उपलब्ध स्थान सीमित भएकाले हामीले चाहेजति सवारीसाधन र प्रविधि खुला रूपमा प्रदर्शन गर्न सकिरहेका छैनौँ।

सरकारले ठूलो र आधुनिक प्रदर्शनीस्थल निर्माणमा ध्यान दिनुपर्छ। यस्तो पूर्वाधारले अटोमोबाइल मात्र होइन, अन्य उद्योगको प्रदर्शनी र व्यवसायिक गतिविधिलाई पनि सहयोग गर्छ।

प्रश्न : अबको नाडाको प्राथमिकता के हो?

नाडालाई अझ समावेशी र प्रभावकारी संस्था बनाउने हाम्रो उद्देश्य हो। व्यवसायीको समस्या सरकारसम्म पुर्‍याउने, नीतिगत सुधारका लागि सुझाव दिने र अटोमोबाइल उद्योगलाई व्यवस्थित तथा दीर्घकालीन रूपमा अघि बढाउने काममा हामी केन्द्रित छौँ।

अटोमोबाइल क्षेत्रको भविष्य ठूलो छ। विद्युतीय सवारी, डिजिटल मोबिलिटी, चार्जिङ पूर्वाधार, नयाँ वित्तीय मोडल र स्थानीय उत्पादनले बजारको स्वरूप परिवर्तन गर्दैछ। त्यसलाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्छ।