ईकोनोमिक खबर, काठमाडौं।
दक्षिण एशियाकै पहिलो सिमापार पाइपलाईन रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आज विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार लिएको हो।
ठिक सवा १२ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार बाट संयुक्तरूपमा स्वीच थिचेर उक्त पाइपलाइनको आज उद्घाटन गर्नुभएको हो।
दुवै देशका प्रधानमन्त्रीहरुले आ–आफ्नो ठाउँबाट भिडियो कन्फरेन्स मार्फत सो पाइपलाइनको उदघाट्न गर्नुभएको थियो। स्वीच अन भारत बाट र रिसिभ स्वीच नेपाल बाट भयो भने अमलेखगन्ज स्थितमा पाइपलाईन प्लान्टको आयतस्थलमा भारतीय आयल कर्पोरेशन(आईओसी) का पदाधिकारीहरुले नेपाल आयल निगमका कार्यकारी निर्देशक लगायतका ५ जना टोलीलाई डिजेल हस्तान्तरण गरेपछि यो परियोजना आधिकारीक रुपमा सञ्चालनमा आएको हो। आजैका दिन पहिलो लटमा मोतिहारी बाट अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा पाइपलाईन मार्फत ७००० केल डिजेल आइपुगेको छ।
अमलेखगञ्जमा आयोजित पाईपलाइन समुद्घाटन कार्यक्रममा भारतीय आयल निगम कार्पोरेशन मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका निर्देशक अभिजित चौधरीले नेपाल भारतको ‘लाइफ लाइन’को रूपमा रहेको यो परियोजनाले नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना वातावरणीय र आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यस परियोजनाले दुवै देशको आर्थिक विकासमा थप योगदान पु-याउने विश्वास व्यक्त गर्नुभयो।
सोही अवसरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेपालको विकासमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताउनुभयो। यो परियोजनाका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने मात्र नभई खर्चमा कमि करिव २ अर्वको बचत, बातावरण अनुकुल, सुरक्षीत र भरपर्दो रहेको बताउनुभयो।
कार्यक्रममा एनओसीका तर्फबाट मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना निर्देशक प्रदिप कुमार यादवका अनुसार पाइपलाइनबाट प्रतिघण्टा दुई सय केल् डिजेल आउनेछ। नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ। पाइपलाइन सञ्चालनमा आएपछि ढुवानी वापत अब वार्षिक रु दुई अर्ब बचत हुने विश्वास लिइएको छ। यसबाट पर्यावरण संरक्षण, राजमार्गमा हुने ट्राफिक जाम तथा दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावट लगायतका समस्या समाधान हुने विश्वास लिइएको बताउनु भयो।