भक्तपुर : चाँगुनारायण नगरपालिकाद्वारा आयोजित प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता बनेको छ ।
नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण–९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा वडा नं ९ सौडोलमा रहेको ताथली धिमे खलले नगद रु ५० हजारसहित सिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र शिछ्या प्राप्त गरेको हो ।
प्रतियोगितामा दोस्रो हुने ताथलीको तैकाभु गणेश सांस्कृतिक समूहले नगद रु २५ हजारसहित सिल्ड प्रमाणपत्र, धिमे बाजा, भुछ्या, शिछ्या एक थान पुरस्कारका रूपमा प्राप्त गरेको छ ।
भक्तपुर नगरपालिकाको नियो भिजन बाजा समूहले तेस्रो हुँदै नगद रु १० हजारसहित सिल्ड पुरस्कार, धिमे बाजा, भुछ्या एक थान प्राप्त गरेको आयोजकले जनाएको छ ।
चौँथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार काभ्रेपलाञ्चोक बनेपास्थित ‘देउला बाँसुरी बाजा खल’ले नगद रु पाँच हजारसहित सिल्ड, मेडल, प्रमाणपत्र र एक थान धिमे बाजा प्राप्त गरेको छ ।
पाँचौँ बनेपास्थित वान्ख्यो दाफा भजन खल, छैठौँ काभ्रेपलाञ्चोक पनौतीको लायकु धिमे खल, सातौँ मध्यपुरथिमिको शिवा सायमी खल, आठौँ ललितपुरको लुभुस्थित तलेजु बाजा खल, नवौँ काठमाडौँको बालकुमारी धिमे खल र दशौँ ताथली सौडोलस्थित सौडोल सांस्कृतिक बाजा खल भएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले विजयी समूहलाई आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभयो ।
उहाँले नगरपालिकाले २०८२ साल वैशाखदेखि सञ्चालन हुने ‘नगरकोट भ्रमण वर्ष’ सफला पार्न यो प्रतियोगिताले महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो । प्रतियोगिताले यहाँको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताउँदै नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका सांसद थापाले नगरपालिकालाई पर्यटकीय नगरका रूपमा स्थापित गर्न यस्ता क्रियाकलाप कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितामा प्रस्तुत भएका विविध कलाले यहाँका धार्मिक, ऐतिहासिक कला, संस्कृति र सम्पदाको प्रचारप्रसारमा सहयोग पुगेकाले यसले पालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताउनुभयो ।
नगरप्रमुख एवं कार्यक्रमका सभापति जीवन खत्रीले पालिकाले पहिलो पटक यस किसिमको प्रतियोगिता मार्फत ऐतिहासिक कार्य सम्पन्न गरेका बताउनुभयो । उहाँले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको भन्दै सहभागी प्रतियोगी समूह, स्थानीय प्रतिनिधि, वडा तथा नगरवासी, नगर कर्मचारीलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नगरप्रमुख खत्रीले सबैको सहयोगले मुलुकको नमूनाका रूपमा बागमती प्रदेशस्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।