कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको गतिविधि निगरानी गर्न रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। हात्तीको आवागमनको वास्तविक अवस्था पत्ता लगाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले निकुञ्जले रेडियो कलर जडानको तयारी थालेको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई जंगली हात्तीमा रेडियो कलर जडान गर्ने कार्य अगाडि बढाउन निर्देशन दिएको छ। विभागले हात्तीको आवागमनसम्बन्धी सूचना संकलन, नियमित अनुगमन तथा तथ्याङ्क विश्लेषणका लागि रेडियो कलर व्यवस्थापन गर्न अनुरोध गरेको हो।
रेडियो कलर जडान भएपछि हात्ती कुन क्षेत्रमा विचरण गरिरहेको छ, कुन दिशातर्फ अघि बढिरहेको छ र बस्ती आसपास पुग्ने सम्भावना कति छ भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ। यसबाट हात्तीको गतिविधि अनुमानका आधारमा नभई वैज्ञानिक तथ्याङ्कका आधारमा विश्लेषण गर्न सकिनेछ।
विशेषगरी निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीमा हात्तीको प्रवेशले स्थानीय बासिन्दा प्रभावित हुँदै आएका छन्। हात्तीले घर, गोठ तथा भौतिक संरचनामा क्षति पुर्याउनुका साथै खेतबारीमा लगाइएको अन्नबाली नष्ट गर्ने समस्या पनि देखिँदै आएको छ। कतिपय अवस्थामा हात्ती र मानिसबीच प्रत्यक्ष जम्काभेट हुँदा मानवीय सुरक्षासमेत जोखिममा पर्ने गरेको छ।
यसै अवस्थालाई ध्यानमा राखेर रेडियो कलरबाट प्राप्त हुने सूचनाका आधारमा हात्तीको सम्भावित आवागमन र जोखिम क्षेत्र पहिचान गर्ने विभागको योजना छ। हात्ती बस्ती नजिक पुग्नुअघि नै त्यसको गतिविधिबारे जानकारी प्राप्त भएमा स्थानीय समुदायलाई समयमै सचेत गराउन र सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सकिने अपेक्षा गरिएको छ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्न सकिने बताएकी छन्।
उनका अनुसार रेडियो कलरबाट प्राप्त सूचनाले स्थानीय समुदायलाई समयमै सतर्क गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी कम गर्न सहयोग पुर्याउनेछ। हात्तीको गतिविधिबारे समयमै जानकारी प्राप्त हुनु मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने उनको भनाइ छ।
मन्त्री चौधरीले रेडियो कलर जडान गर्दा वन्यजन्तुको सुरक्षा र कल्याणलाई प्राथमिकतामा राखिने पनि स्पष्ट पारेकी छन्। उनका अनुसार निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सकसहितको प्राविधिक टोलीको समन्वयमा रेडियो कलर जडान गरिनेछ।
हात्तीलाई कुनै प्रकारको अनावश्यक चोटपटक वा तनाव नहोस् भन्ने कुरालाई ध्यान दिँदै वैज्ञानिक विधि अपनाइने र जडानपछि पनि नियमित अनुगमन गरिने उनले बताएकी छन्।
मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रविधिको प्रयोग
वन्यजन्तुको आवागमन निगरानी गर्न प्रयोग गरिने रेडियो कलरले हात्तीको स्थान र गतिविधिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउँछ। यस्तो प्रविधिबाट प्राप्त सूचनालाई विश्लेषण गरेर हात्तीको नियमित आवागमन मार्ग, विचरण क्षेत्र र बस्ती नजिक पुग्ने सम्भावनाबारे अध्ययन गर्न सकिन्छ।
तर रेडियो कलर जडान गर्नु मात्रै द्वन्द्व समाधानको पूर्ण उपाय भने होइन। यसबाट प्राप्त सूचनालाई तत्काल स्थानीय समुदायसम्म पुर्याउने प्रभावकारी सूचना प्रणाली, जोखिम क्षेत्रमा सतर्कता, वन्यजन्तुबाट हुने क्षतिको व्यवस्थापन तथा निकुञ्ज र स्थानीय बासिन्दाबीच समन्वय पनि उत्तिकै आवश्यक हुन्छ।
शुक्लाफाँटामा रेडियो कलर जडानको प्रक्रिया अघि बढ्नु मानव–वन्यजन्तु सहअस्तित्वलाई प्रविधिसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ। यसको प्रभावकारिता भने हात्तीको गतिविधिसम्बन्धी तथ्याङ्कको नियमित विश्लेषण, समयमै सूचना प्रवाह र त्यसका आधारमा गरिने प्रतिकार्यमा निर्भर रहनेछ।