श्रीगजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्यसहित विराट महायज्ञ हुँदै


नवलपरासी । परमश्रद्धेय श्रीमुक्तिनाथबाबाज्यूको पावन सत्सङ्कल्पमा सञ्चालित श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विशिष्टतम महाविद्यालयका रूपमा अभिवृद्धि गर्दै ‘श्रीगजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय’ स्थापना गर्ने लक्ष्यसहित नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा विराट महायज्ञ आयोजना हुने भएको छ।

‘अष्टाचल धनधान्याचल गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३’ नाम दिइएको उक्त धार्मिक एवं आध्यात्मिक महायज्ञ आगामी २०८३ मंसिर १ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।

वैदिक शिक्षा, संस्कृतिको संरक्षण तथा आध्यात्मिक चेतनाको विस्तार गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई थप सुदृढ र व्यवस्थित बनाउँदै उच्च तहको वैदिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

महायज्ञमार्फत वैदिक शिक्षा र संस्कृतिको संरक्षण, धार्मिक चेतनाको अभिवृद्धि तथा भावी पुस्तालाई सनातन ज्ञान र परम्परासँग जोड्ने अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीलाई धार्मिक, आध्यात्मिक तथा वैदिक अध्ययन–अनुसन्धानको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन सोचका साथ महायज्ञ आयोजना गर्न लागिएको जनाइएको छ।

आयोजकले देश तथा विदेशमा रहेका सम्पूर्ण श्रद्धालु भक्तजनलाई महायज्ञमा सहभागी भई धार्मिक एवं आध्यात्मिक पुण्यलाभ गर्न आग्रह गरेको छ।