काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उहाँलाई उक्त पदमा बढुवा गरिएको हो।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गर्नुभएका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध हुनुहुन्छ ।
उहाँले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
उहाँ बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत रहनुभएको छ ।
रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गर्नुभएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ।