चितवन । प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधको स्वरूप पनि जटिल बन्दै गएको र सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट ठूलो रकम ठगी हुने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड चितवनको सहकार्यमा भरतपुर महानगरपालिका–१० स्थित जिल्ला सहकारी संघको सभाहलमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।
पछिल्लो समय साइबर अपराध सामान्य अनलाइन ठगीमा मात्र सीमित नरही लाखौँ मानिसलाई प्रभावित पार्ने र अर्बौँ रुपैयाँसम्मको आर्थिक क्षति पुर्याउन सक्ने नयाँ स्वरूपमा देखिन थालेको भन्दै प्रहरीले डिजिटल कारोबारमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
कार्यक्रममा साइबर अपराधका विभिन्न स्वरूप, ठगीका नयाँ तरिका, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन कारोबारमा अपनाउनुपर्ने सुरक्षा सावधानी तथा साइबर अपराधमा परेमा अपनाउनुपर्ने कानुनी र व्यावहारिक प्रक्रियाबारे जानकारी दिइएको थियो।
विशेषगरी सहकारी क्षेत्रमा डिजिटल कारोबार र अनलाइन प्रविधिको प्रयोग बढिरहेको अवस्थामा सञ्चालक, व्यवस्थापक तथा कर्मचारीलाई साइबर जोखिमबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड चितवनका अध्यक्षसहित कार्यसमितिका पदाधिकारी, चितवन जिल्लाका संघमा आबद्ध सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापक, कर्मचारी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा २५४ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार प्रविधिको पहुँच विस्तारसँगै साइबर अपराधीहरूले मानिसको विश्वास जित्ने, नक्कली परिचय तथा लिंक प्रयोग गर्ने, सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने र विभिन्न प्रलोभन देखाएर रकम हस्तान्तरण गर्न लगाउनेजस्ता प्रविधि अपनाउँदै आएका छन्। यस्तो अवस्थामा डिजिटल कारोबार गर्दा अपरिचित व्यक्ति, लिंक, एप वा खातामार्फत हुने कारोबारमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ।
सहकारी संस्थाहरूमा ठूलो संख्यामा सदस्यको वित्तीय विवरण तथा रकमसँग सम्बन्धित संवेदनशील सूचना रहने भएकाले साइबर सुरक्षालाई संस्थागत जोखिम व्यवस्थापनकै एउटा महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने आवश्यकता देखिएको छ।

प्रहरीले साइबर अपराध नियन्त्रणका लागि कानुनी कारबाहीसँगै सचेतना र डिजिटल सुरक्षा अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएको छ। सहकारी क्षेत्रसँग गरिएको यस्तो सहकार्यले वित्तीय कारोबारमा संलग्न संस्था तथा व्यक्तिलाई साइबर ठगीको जोखिम पहिचान गर्न र सम्भावित क्षति रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।