२६ वर्षको यात्राप्रति अध्यक्ष चन्द्र ढकालको भावुक स्मरण


काठमाडौं । आइएमई लिमिटेडको २६औँ वार्षिक साधारणसभाको गरिमामय मञ्चमा उभिँदा अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षअघिको आफ्नो प्रारम्भिक यात्रालाई भावुकतापूर्वक स्मरण गर्नुभएको छ।

विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले दुःख र पसिनाबाट आर्जन गरेको रकम सुरक्षित रूपमा स्वदेशमा रहेका परिवारसम्म पुर्‍याउने उद्देश्यले सुरु भएको आइएमईको यात्रा आज विश्वास र समर्पणको २६ वर्षे इतिहास बनेको उहाँले बताउनुभयो।

“परदेशमा बगेको पसिनाको एक–एक थोपाको मूल्य सुरक्षित, मर्यादित र सम्मानका साथ नेपालमा प्रतीक्षारत आमा, बुबा, जीवनसाथी र सन्तानको हातसम्म पुर्‍याउनु हाम्रो सुरुवाती संकल्प थियो,” अध्यक्ष ढकालले भन्नुभयो, “आज फर्केर हेर्दा त्यो सानो सोचलाई लाखौँ नेपालीको विश्वासले एउटा ठूलो संस्थागत यात्रामा रूपान्तरण गरिदिएको अनुभूति हुन्छ।”

उहाँले आइएमईको सबैभन्दा ठूलो पूँजी भवन, प्रविधि वा व्यवसाय नभई नेपाली जनताको अटूट विश्वास रहेको बताउनुभयो। विदेशमा रहेका नेपालीको कमाइलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउँदै आइएमईले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन निरन्तर योगदान दिइरहेको उहाँको भनाइ थियो।

अध्यक्ष ढकालले आगामी दिनमा डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सलाई आत्मसात् गर्दै वित्तीय सेवामा थप सहजता, सुरक्षा र नवीनता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘खल्ती’सहितका डिजिटल प्लेटफर्ममार्फत बदलिँदो पुस्ताको आवश्यकता सम्बोधन गर्दै आइएमईलाई अझ आधुनिक र जनमुखी बनाउँदै लैजाने उहाँले बताउनुभयो।

“२६ वर्षको यो यात्रा मेरो वा आइएमईको मात्र यात्रा होइन, यो लाखौँ नेपालीको विश्वास, सहकार्य र सपनाको साझा यात्रा हो,” उहाँले भन्नुभयो।

मुलुकको आर्थिक विकास, वित्तीय समावेशिता र डिजिटल नेपालको अभियानमा निजी क्षेत्रले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले आगामी दिनमा पनि राष्ट्र र नागरिकप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले आइएमईको यात्रामा साथ दिने सम्पूर्ण नेपाली, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकाय, कर्मचारी, व्यावसायिक साझेदार तथा गैरआवासीय नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

“हामीमाथिको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। यो विश्वासप्रति हामी सदैव ऋणी छौँ,” अध्यक्ष ढकालले भन्नुभयो।