काठमाडौं। सानिमा बैंकले आफ्नो २२औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न यस सभाले शेयरधनीहरूका लागि आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०८३ आषाढ मसान्तसम्मको साधारण शेयर पुँजीको १० प्रतिशत र अग्राधिकार शेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
साथै, साधारणसभाबाट सर्वसाधारण शेयरधनीहरूको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।
आर्थिक बर्ष २०८२/८३ मा ३.५५ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २९१.२१ अर्ब रुपैयाँ कुल निक्षेप २४९.९३ अर्ब तथा खुद कर्जा सापटी रु २०३.९९ अर्ब रहेको छ। आर्थिक वर्ष २०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले बृद्धि गरेको बैंकले जनाएको छ।
असार मसान्त २०८३ सम्मको वित्तीय परिसूचक अनुसार बैंकको निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत र कर्जा-निक्षेप अनुपात (मासिक औसत) ८०.७७ प्रतिशत कायम भएको छ।