नेप्सेमा ९.६२ अंकको गिरावट, ४ अर्ब ६५ करोड बढीको सेयर कारोबार


काठमाडौं। शेयर बजार आज ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा बन्द भएको छ। बजारमा आएको यस गिरावटसँगै आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको घटेको छ र १० कम्पनीको मूल्य स्थिर रहेको छ।

दिनभरिमा ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज हिमालयन डिस्टिलरीको सर्वाधिक २२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले सर्वाधिक ९.१८ प्रतिशतले कमाएका छन्।

बजारमा नीतिगत सुधारका विभिन्न कदमहरू चालिए पनि लगानीकर्ताको मनोबलमा त्यसअनुसारको सुधार देखिन सकेको छैन। सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि बढाएको २१ बुँदे राहत प्याकेज, पुँजीगत लाभकरमा कटौती र नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डको लचकताले सकारात्मक अपेक्षा जगाए पनि तत्काल बजारमा नयाँ माग सिर्जना हुन सकेको छैन।