मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता


काठमाडौं। मुक्तिनाथ विकास बैंक र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल वा इन्भ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ।

ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा डिलरको इन्भ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुन सक्ने बैंकले जनाएको छ। कर्जाको मूल्यांकन तथा ब्याजदर बैंकको प्रचलित कर्जा नीतिअनुसार निर्धारण हुनेछ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

सम्झौताले निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिदका लागि वित्तीय स्रोत जुटाउन सहज हुने बैंकको भनाइ छ। यसबाट उत्पादनशील क्षेत्रमा लगानी विस्तार तथा निर्माण व्यवसायमा आवश्यक उपकरणको पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) लगायत विभिन्न क्षेत्रमा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

मुख्य सन्देश: ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ।’