काठमाडौँ। सरकारले भोटेकोशी–त्रिशूली कोरिडोरका बाढी प्रभावित क्षेत्रमा रोजगार सिर्जना, सीप विकास र पुनर्निर्माणलाई एकीकृत गर्दै प्रारम्भिक पुनर्लाभ कार्यक्रम अघि बढाउने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवं युवा महाशाखा प्रमुख हेमराज तामाङको अध्यक्षतामा गठित प्राविधिक समन्वय समिति (टीसीसी) को बैठकले बाढी प्रभावित नागरिकलाई तत्काल रोजगारीका अवसर उपलब्ध गराउने तथा स्थानीय पुनर्निर्माणमा युवा परिचालन गर्ने विषयमा छलफल गरेको हो। बैठकमा विकास साझेदारहरूको समेत सहभागिता थियो।
बैठकमा द्रुत रोजगार सहायता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा जोड दिइएको छ। कार्यक्रमअन्तर्गत स्थानीय सार्वजनिक निर्माण, क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा पुनर्स्थापना, सरसफाइ र पुनर्निर्माणका काममा प्रभावित नागरिकलाई सहभागी गराइनेछ।
त्यस्तै, आवश्यकतामा आधारित सीपमूलक तालिम र सीप प्रमाणीकरणका अवसरमा विपद् प्रभावित व्यक्ति तथा परिवारलाई प्राथमिकता दिने तयारी गरिएको छ। यसबाट प्रभावित समुदायलाई तत्काल आम्दानीको अवसर उपलब्ध गराउनुका साथै पुनर्निर्माणका लागि आवश्यक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित जिल्लालाई केन्द्रमा राखेर रोजगार केन्द्रित पुनर्लाभ रणनीति तथा कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
रणनीतिमा तत्काल रोजगारी र आम्दानीका अवसरसँगै स्थानीय स्तरमा दिगो रोजगारी सिर्जना, युवा परिचालन, सीप विकास, पुनर्निर्माण तथा जीविकोपार्जन पुनर्स्थापनालाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।