काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत धितोपत्रको नियमित कारोबार सोमबार स्थगित भएको छ । नेप्सेका ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि कारोबार सञ्चालन प्रभावित भएको हो ।
समस्या समाधानका लागि प्रयास जारी रहे पनि असोज ५ गतेसम्म समाधान हुन नसकेपछि नेप्सेले सोमबारको नियमित कारोबार सत्र स्थगित गर्ने निर्णय गरेको जनाएको छ । कारोबार प्रणालीमै थप क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत कारोबार स्थगन गर्न आग्रह गरेको थियो ।
प्रविधिमा आधारित नेपालको पूँजीबजारमा एउटा डाटा सेन्टरमा आएको समस्याका कारण समग्र शेयर कारोबार नै रोकिएपछि बजारको प्राविधिक पूर्वाधार र वैकल्पिक प्रणालीमाथि प्रश्न उठेको छ । मुख्य प्रणालीमा समस्या आए तत्काल सञ्चालन गर्न सकिने ब्याकअप तथा डिजास्टर रिकभरी प्रणाली कति प्रभावकारी छन् भन्ने विषय पुनः चर्चामा आएको हो ।
नेप्सेले कारोबार स्थगनबाट लगानीकर्तामा परेको असुविधाप्रति क्षमा मागेको छ । तर, प्राविधिक समस्या लामो समयसम्म समाधान हुन नसक्नु र अन्ततः पूरै कारोबार सत्र बन्द गर्नुपर्ने अवस्थाले बजारको प्रविधिगत विश्वसनीयता, जोखिम व्यवस्थापन तथा आपत्कालीन अवस्थामा कारोबार निरन्तरता दिने तयारीबारे थप स्पष्टता आवश्यक देखाएको छ ।