काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा होटल, रेस्टुरेन्ट तथा खाजाघरमा ठूलो क्षति पुर्याएपछि प्रभावित व्यवसायीले विशेष पुनरुत्थान प्याकेज, ऋण पुनर्संरचना, ब्याज छुट र बिमा दाबीको तत्काल भुक्तानी माग गरेका छन्।
बाढी प्रभावित पर्यटन व्यवसायको क्षति र पुनःस्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) समक्ष प्रभावित होटल तथा रेस्टुरेन्टको प्रारम्भिक विवरण र नामावली बुझाएको छ।
महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले FNCCI अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिका पदाधिकारीसँगको बैठकमा प्रभावित व्यवसायीको अवस्थाबारे जानकारी गराउँदै पुनरुत्थानका लागि सरकार र राष्ट्र बैंकमार्फत वित्तीय सहुलियतको पहल गर्न आग्रह गरेका हुन्।
ऋण पुनर्संरचनादेखि अनुदानसम्म
महासंघले प्रभावित व्यवसायीका लागि विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदान उपलब्ध गराउन माग गरेको छ। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पुनर्संरचना, ब्याजमा छुट तथा अन्य वित्तीय सहुलियतका लागि सरकार र नेपाल राष्ट्र बैंकसँग पहल गर्न पनि आग्रह गरिएको छ।
त्यस्तै, बिमा गरेका व्यवसायीको क्षति दाबी तत्काल भुक्तानी गराउन तथा बिमाको पहुँचबाहिर रहेका ग्रामीण क्षेत्रका साना होटल, रेस्टुरेन्ट र खाजाघरलाई क्षतिको मूल्याङ्कनका आधारमा विशेष आर्थिक सहयोग उपलब्ध गराउन माग गरिएको छ।
महासंघका अनुसार तत्काल उद्धार तथा राहतको चरणपछि अब क्षतिग्रस्त व्यवसायलाई पुनः सञ्चालनमा ल्याउनु मुख्य चुनौती बनेको छ।
FNCCI अध्यक्ष श्रेष्ठ तथा पर्यटन समितिले प्रभावित व्यवसायीको पुनःस्थापना, बिमा दाबी भुक्तानी र वित्तीय सहुलियतका लागि सरकार तथा नेपाल राष्ट्र बैंकसँग पहल गर्ने प्रतिबद्धता जनाएको महासंघले जनाएको छ।