ट्राभल बजारमा छुटको प्रतिस्पर्धा, ग्राहक तान्न ट्रिप डटकमको नयाँ रणनीति


ललितपुर। नेपाली ट्राभल बजारमा ग्राहक आकर्षित गर्न छुट र रिवार्डलाई केन्द्रमा राखेर डिजिटल प्लेटफर्मबीचको प्रतिस्पर्धा बढिरहेका बेला ट्रिप डटकमले नयाँ सेल अभियान सुरु गरेको छ। कम्पनीले ‘ट्राभल मेला २०२६’ मार्फत हवाई टिकटदेखि होटल र बस टिकटसम्मका सेवामा छुट तथा विभिन्न रिवार्ड सार्वजनिक गरेको हो।

असोज ४ देखि सुरु भएको अभियानमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, होटल, बस टिकट र विभिन्न ट्राभल गतिविधिलाई एउटै बिक्री अभियानमा जोडिएको छ। कम्पनीले सेवाअनुसार ५० प्रतिशतसम्म छुट, साप्ताहिक ‘फायर सेल’ र टीटी क्वाइन रिवार्ड उपलब्ध गराउने जनाएको छ।

उडान र बस टिकटमा प्रत्यक्ष छुट

अभियानअन्तर्गत पहिलोपटक आन्तरिक उडान बुकिङ गर्ने ग्राहकले २०० रुपैयाँ छुट पाउनेछन्। त्यसपछि ‘FLIGHTMELA’ प्रोमो कोडमार्फत प्रत्येक आन्तरिक उडान बुकिङमा थप १५० रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ।

बस टिकटतर्फ ‘BUSMELA26’ प्रोमो कोड प्रयोग गर्दा ७० रुपैयाँ छुट पाइनेछ। सीमित संख्याका ग्राहकलाई लक्षित साप्ताहिक ‘फायर सेल’मा आन्तरिक उडानमा ३०० रुपैयाँसम्म र बस टिकटमा १०० रुपैयाँसम्म छुट दिने कम्पनीले जनाएको छ।

यसले नियमित छुटभन्दा बाहेक निश्चित समय र सीमित संख्यामा ग्राहकलाई बढी छुट दिने गरी बिक्री बढाउने रणनीति अपनाइएको देखिन्छ।

छुटसँगै रिवार्ड र गिभअवे

ट्राभल मेला २०२६ मा मूल्य छुटसँगै ग्राहकलाई प्लेटफर्ममा जोडिराख्ने उद्देश्यले रिवार्ड र गिभअवेलाई समेत अभियानको हिस्सा बनाइएको छ।

अभियानअन्तर्गत दुई जना भाग्यशाली ग्राहकले काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान जित्ने अवसर पाउनेछन्। त्यस्तै, बुद्ध एयरको माउन्टेन फ्लाइट तथा सीमित गन्तव्यका आन्तरिक उडान टिकटसमेत गिभअवेमा राखिएको कम्पनीले जनाएको छ।

उडानदेखि होटलसम्म एउटै प्लेटफर्म

ट्रिप डटकमले हवाई टिकट र बस टिकटमा मात्रै नभई होटल तथा विभिन्न ट्राभल गतिविधिलाई समेत अभियानमा समेटेको छ। कम्पनीका अनुसार प्लेटफर्ममार्फत विश्वभरका ६० लाखभन्दा बढी होटलमा पहुँच लिन सकिन्छ र नेपाली रुपैयाँमै अन्तर्राष्ट्रिय होटल बुकिङ गर्न सकिन्छ।

कम्पनीका संस्थापक शिखेर प्रसाईंले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र होटलसँगै बस टिकट, गतिविधि र अन्य ट्राभल अनुभवलाई एउटै अभियानमा जोडिएको बताए।

ट्राभल बजारमा ग्राहकले मूल्य, सुविधा र रिवार्डका आधारमा सेवा छनोट गर्ने क्रम बढिरहेका बेला ट्रिप डटकमको पछिल्लो अभियानले प्रत्यक्ष छुटसँगै ग्राहकलाई डिजिटल प्लेटफर्ममा आकर्षित गर्ने रणनीतिलाई प्राथमिकता दिएको देखिन्छ। यद्यपि अभियानको व्यावसायिक प्रभाव भने बिक्री, बुकिङ संख्या र ग्राहकको पुनःप्रयोगजस्ता सूचकबाट मात्र स्पष्ट हुनेछन्।