काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि शेष घलेको एमआईटी ग्रुप फाउन्डेसनले दीर्घकालीन सहयोग कार्यक्रम अघि बढाउने भएको छ। बाढीपछि बालबालिकाको शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकतामा परेको असरलाई ध्यानमा राख्दै फाउन्डेसनले उनीहरूलाई कक्षा १२ सम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
फाउन्डेसनका अनुसार राष्ट्रिय बाल अधिकार परिषद्सँग भएको समझदारीपत्रमार्फत बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकाका लागि दीर्घकालीन सहयोग कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रमका लागि अधिकतम ५७ करोड ८५ लाख रुपैयाँसम्मको बजेट प्रतिबद्धता गरिएको छ।
फाउन्डेसनले प्रभावित बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाद्यान्न, आवास, कपडा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक आधारभूत सेवाका लागि सहयोग उपलब्ध गराउने जनाएको छ। यस्तो सहयोग बालबालिकाको व्यक्तिगत आवश्यकता र पारिवारिक परिस्थितिलाई आधार बनाएर प्रदान गरिने बताइएको छ।
एमआईटी ग्रुप फाउन्डेसनले बाढीको पानी घट्दैमा बालबालिकाले भोगेको समस्या समाप्त नहुने जनाएको छ। बाढीका कारण कतिपय बालबालिकाको जीवनमा दीर्घकालीन प्रभाव परेको भन्दै उनीहरूको भविष्य सुनिश्चित गर्न निरन्तर सहयोग आवश्यक रहेको फाउन्डेसनको भनाइ छ।
फाउन्डेसनका तर्फबाट सार्वजनिक गरिएको सन्देशमा आफू र आफ्नी श्रीमती बाढी प्रभावित बालबालिका तथा उनीहरूका परिवारले भोग्नुपरेको अवस्थाबाट गहिरो रूपमा प्रभावित भएको उल्लेख गरिएको छ। कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि बालबालिकालाई साथ दिँदै उनीहरूको शिक्षा निरन्तरता र आवश्यक आधारभूत आवश्यकता पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

फाउन्डेसनले यो सहयोगलाई केवल आर्थिक सहायता नभई बालबालिकाको भविष्य निर्माणका लागि दीर्घकालीन प्रतिबद्धताका रूपमा लिएको जनाएको छ। बाढीबाट भोग्नुपरेको कठिनाइले उनीहरूको भविष्यका अवसर निर्धारण नगरोस् भन्ने उद्देश्यले बालबालिका हुर्कंदै जाँदा निरन्तर साथ र सहयोग गर्ने बताइएको छ।

‘उनीहरू बिर्सिएका छैनन्’ भन्ने अनुभूति प्रभावित बालबालिकालाई गराउन आफूहरूको प्रमुख उद्देश्य रहेको फाउन्डेसनले जनाएको छ। दीर्घकालीन सहयोगमार्फत बाढी प्रभावित बालबालिकालाई शिक्षा र आवश्यक सेवामा पहुँच कायम राख्दै भविष्यप्रति आशावादी बनाउने लक्ष्य लिइएको छ।