कांग्रेसलाई युवामैत्री बनाउने बहसमा बिनिता


काठमाडौँ।  विशेष महाधिवेशनबाट पुस्ता परिवर्तन भएको कांग्रेसमा युवा प्रतिनिधित्वको विषय अहिले बहसमा छ।

प्रश्न अब केवल केन्द्रीय समितिमा युवा अनुहारको संख्या कति छ भन्ने विषयमा सीमित छैन। जेन्जी विद्रोहपछि कांग्रेसभित्र नीतिनिर्माण तहमा युवाको सहभागिता बढाउनुपर्ने दवावमा छ।

कांग्रेसको अब हुने महाधिवेशनमा कति युवालाई नीतिनिर्माण, संगठन सञ्चालन र नेतृत्व विकासको अवसर दिइन्छ भन्ने प्रश्नको आकार बढेको छ ।

बिनिता खड्का युवालाई पार्टीको संरचनामा अर्थपूर्ण स्थान दिनुपर्ने पक्षमा छिन्। उनका अनुसार नयाँ पुस्तालाई कार्यक्रममा भीड जुटाउन वा चुनावी अभियान चलाउन मात्र प्रयोग गरेर पार्टीको भविष्य सुनिश्चित हुँदैन।

पार्टीको नीति बनाउने ठाउँमा युवा उपस्थित हुनुपर्ने, डिजिटल युगका प्रश्न पार्टीको राजनीतिक बहसमा आउनुपर्ने र युवालाई नेतृत्वका लागि तयार पार्ने संस्थागत प्रणाली विकास हुनुपर्ने उनको धारणा छ।

यस्तो एजेन्डा कार्यान्वयन गर्न केवल युवा अनुहार पर्याप्त हुँदैन। त्यसका लागि पार्टीको संरचनात्मक सुधार आवश्यक पर्छ। बिनिताको राजनीतिक दाबी पनि यही संरचनात्मक बहससँग जोडिएको छ।

कांग्रेसको केनद्रमा बिनिता र बिनिता जस्ता युवाले स्थान पाउनु भनेकै युवामैत्री बनाउनु हुनेछ ।