अर्थमन्त्री डा. वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान


भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान– ‘नेपाललाई बजार मात्र होइन, रणनीतिक साझेदारका रूपमा हेरौँ’

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा उच्च आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेको भन्दै नेपाली बजारलाई लगानी, उत्पादन र क्षेत्रीय आपूर्ति शृङ्खलासँग जोड्ने साझेदारका रूपमा हेर्न आग्रह गरेका हुन्।

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले आयोजना गरेको व्यापार तथा लगानीसम्बन्धी अन्तरक्रियामा यस्तो आह्वान गरेका हुन्।

कार्यक्रममा उनले नेपालमा उदीयमान लगानीका क्षेत्रबारे जानकारी दिँदै आर्थिक रूपान्तरणमा भारतीय व्यवसायीको सहभागिताका लागि आग्रह गरे। नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजार तथा सम्भावनाको खोजी गर्न उनले आग्रह गरे।

अर्थमन्त्री वाग्लेले सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण तथा संरचनात्मक आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। लगानीकर्ताका लागि नीतिगत वातावरण थप अनुमानयोग्य, पारदर्शी र सहज बनाउन सुधारको प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो।

उनले सूचना प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यका कृषि उत्पादन, पर्यटन तथा उत्पादन साझेदारीमा आधारित उद्योगलाई नेपालको आर्थिक वृद्धिका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे।

“भारतीय व्यवसायीलाई नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्न चाहन्छौँ।”

मन्त्री वाग्लेका अनुसार नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न सक्ने आधार तयार गरिरहेको छ। उनले भारतसँगको आर्थिक सम्बन्धलाई व्यापारमा मात्र सीमित नराखी लगानी, उत्पादन र मूल्य अभिवृद्धिसँग जोड्नुपर्नेमा जोड दिए।