काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंकले १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ।
बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको छ। यसमा बैंकका कर्मचारीले आफ्नो एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५५० रुपैयाँ योगदान गरेका छन् भने बैंकले ३४ लाख ९० हजार ५६१ रुपैयाँ थप गरेको जनाएको छ।
त्यसैगरी, बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कोषबाट थप ५० लाख रुपैयाँ प्रभावित क्षेत्रमा प्रत्यक्ष सहयोगका लागि उपलब्ध गराउने घोषणा गरेको छ।
शिक्षा, स्वास्थ्य र पुनःस्थापनामा सहयोग
बैंकका अनुसार CSR अन्तर्गतको ५० लाख रुपैयाँ शिक्षा, स्वास्थ्य तथा पुनःस्थापनासम्बन्धी कार्यक्रममा खर्च गरिनेछ। प्रभावित क्षेत्रमा स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सहयोग परिचालन गर्ने बैंकले जनाएको छ।
बैंकले बाढीपछि प्रभावित समुदायको तत्कालीन आवश्यकतासँगै दीर्घकालीन पुनःस्थापनालाई समेत प्राथमिकतामा राखेर सहयोग परिचालन गर्ने बताएको छ।
यसरी गरिमा विकास बैंकको घोषित सहयोगमा तत्काल राहतका लागि ५१ लाख ११ हजार १११ रुपैयाँ र दीर्घकालीन पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ समेटिएको छ।