काठमाडौँ। सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट दश प्रतिशत बोनस सेयर र दश प्रतिशत नगदसहित २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको असोज १ गते बसेको ४८२औँ बैठकले उक्त प्रस्ताव गरेको हो।
बैंकको चुक्ता पुँजी १४ अर्ब ७९ करोड रुपैयाँ रहेकाले प्रस्तावित बोनस सेयरको मूल्य करिब एक अर्ब ४७ करोड रुपैयाँ हुनेछ। १० प्रतिशत नगद लाभांश पनि सोही बराबर अर्थात् करिब एक अर्ब ४७ करोड रुपैयाँ हुनेछ।
त्यसैगरी प्राथमिकताप्राप्त सेयरका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ, जसको मूल्य करिब १० करोड ७५ लाख रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ।
बैंकको सेयरको अन्तिम कारोबार मूल्य (LTP) प्रतिकित्ता चार सय ३१ रुपैयाँ रहेको छ।