काठमाडौँ। पर्यटन तथा ट्राभल व्यवसायमा आबद्ध जनशक्तिको क्षमता अभिवृद्धि र संस्थागत कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
नाट्टाले बिहीबार हिमालय दृश्य रिसोर्टमा आयोजना गरेको एकदिने कार्यक्रममा कार्यसमिति सदस्य तथा सचिवालयका कर्मचारीको सहभागिता थियो। कार्यक्रममार्फत संस्थाभित्रको
कार्यशैली, समन्वय र व्यावसायिक दक्षता थप सुदृढ गर्ने प्रयास गरिएको नाट्टाले जनाएको छ।
नाट्टा प्रशिक्षण समितिकी संयोजक एवं कार्यसमिति सदस्य स्मारिका थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा महासचिव राजकुमार देवकोटाले कार्यक्रमको औपचारिक नेतृत्व गर्नुभएको थियो।
प्रशिक्षण सत्रमा रतेन्द्र सिंहले सहभागीलाई आवश्यक ज्ञान, कार्यदक्षता तथा व्यावसायिक दृष्टिकोणका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा नाट्टाका सम्पूर्ण कार्यसमिति सदस्य तथा सचिवालयका कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए।
नाट्टा अध्यक्ष भरतजंग पाण्डेले कार्यक्रमको समापन गर्दै पर्यटन क्षेत्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न जनशक्तिको क्षमता विकास महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले प्रशिक्षणले संस्थाको कार्यसम्पादन र व्यावसायिक दक्षता थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
पर्यटन क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र व्यवसायिक आवश्यकताबीच दक्ष जनशक्ति विकासलाई प्राथमिकतामा राख्दै नाट्टाले आगामी दिनमा पनि क्षमता अभिवृद्धिमूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
